११ भदौ , काठमाण्डौ ।
श्वासप्रश्वास सम्बन्धी रोगबाट मृत्यु हुनेको संख्या संसारमा सबैभन्दा बढी नेपालमा रहेको एक अध्ययनले देखाएको छ । वायु प्रदूषणका कारण यो रोगका विरामीहरु बढेका हुन् । अन्तर्राष्ट्रिय जर्नल द बीएमजेमा प्रकाशित एक अध्ययनका अनुसार, वायु प्रदूषणले गर्दा हुने श्वासप्रश्वास सम्बन्धी र्दीघ रोग (सीओपीडी) बाट नेपालमा प्रति एक लाखमा १८२ जनाको मृत्यु हुने गरेको छ । अध्ययनका अनुसार श्वासप्रश्वास सम्बन्धी र्दीघरोगबाट मृत्यु हुने यो संख्या विश्वमै सबैभन्दा बढी हो ।
त्यस्तै, वायु प्रदूषणका कारण नेपालीको आयु तीनदेखि सात वर्षसम्म कम हुने गरेको पनि अध्ययनले देखाएको छ । अध्ययन अनुसार, काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसको आयु तीन वर्ष र तराई क्षेत्रमा बसोबास गर्ने मानिसको सात वर्षसम्म घट्ने गरेको छ । यस क्रममा सन् १९९० देखि २०१९ सम्म २०८ वटा देशमा अध्ययन गरिएको थियो । जसमा नेपालमा प्रति एक लाख मानिसमध्ये तीन हजार ३१८ जनामा अपाङ्गता देखिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख मेघनाथ धिमालका अनुसार, नेपालमा श्वासप्रश्वास सम्बन्धी र्दीघरोगबाट धेरै मृत्यु हुनुको मुख्य कारण वायु प्रदूषण र धूमपान हो । सन् २०१९ मै परिषद्ले ‘नेपाल बर्डन अफ डिजिज’ रिपोर्ट सार्वजनिक गरेको थियो । यो अध्ययन अनुसार, नेपालमा १७.७ प्रतिशत मृत्यु धूमपानका कारण हुने गरेको छ । त्यस्तै, मुटुरोगबाट २४ प्रतिशत र श्वासप्रश्वास सम्बन्धी र्दीघरोगबाट २१.१ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ ।
सीओपीडी रोग हुँदा हावा प्रवाहमा अवरोध हुने र श्वास फेर्न समस्या हुन्छ । यसमा क्रोनिक ब्रोंकाइटिस र एम्फिसेमा जस्ता अवस्थाहरू समावेश छन् । प्रायः सबै सीओपीडी हुने केशहरू वातावरणबाटै हुने गरेको अनुसन्धानकर्ता तथा म्याकगिल विश्वविद्यालयका इपिडिमियोलोजी बायोस्ट्याटिस्टिक एन्ड अकुपेशनल हेल्थ विभागका प्राध्यापक जय कौफम्यानले बताए । त्यस्तै, स्वास्थ्य उपचारको पहुँच नहुनुको कारणले पनि बचाउन सकिने व्यक्तिको मृत्यु भइरहेको कौफम्यानले बताए ।
अध्ययन अनुसार, नेपालमा बढ्दो शहरीकरणले यातायात साधनको प्रयोग पनि सन् १९९० मा दुई लाख २४ हजारबाट सन् २०१२ सम्म १३ लाख पुगेको छ । अनुसन्धानकर्ताहरूका अनुसार, नेपाल वायु प्रदूषकलाई प्रभावकारी रूपमा नियमन गर्न र वायु गुणस्तर नियन्त्रण उपायहरू लागू गर्न असफल भएको छ । वेलैमा सीओपीडीका बिरामी पत्ता लगाउनु, धूमपान सेवनलाई कम गराउनु तथा घरभित्र हुने प्रदूषणलाई कम गराउनु नै यो समस्याको हल रहेको विज्ञहरूको भनाइ छ ।