१३ भदौ, काठमाण्डौ ।
विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिए पनि रवीन्द्र मिश्र पार्टीको आन्तरिक राजनीतिमा उत्तिकै सक्रिय छन् । आफ्नै समूहकी समिक्षा बास्कोटालाई पार्टी अध्यक्ष बनाएर मिश्रले आफ्नो सक्रियता र प्रभाव कति छ भन्ने देखाएका छन् । यस्तै यो बीचमा उनले चाहे संचारमाध्यम, सामाजिक संजालमा आफ्ना धारणाहरु सार्वजनिक गरेर होस् वा अन्य दल र नेताहरुसंग भेटघाटलाई निरन्तरता दिएर उनले नेपाली राजनीतिमा आफ्नो सक्रियता बढाउने प्रयास जारी राखेका छन् ।
यसैबीच आइतबार साँझ मिश्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेका छन् । अध्यक्ष ओली निवासमा ओलीसँग अढाई घन्टा भेट भएको मिश्रले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी गराएका छन् । आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, ओलीको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौं विषयमा छलफल भएको मिश्रले बताएका छन् ।
त्यस्तै, आगामी आम निर्वाचनमा काठमाडौं–१ मा सहकार्यबारे छलफल भएको थियो । मिश्रले आगामी निर्वाचनको विषयमा पनि कुराकानी भएको र आफूहरुले सहयोगको अपेक्षा गरेको पनि बताएका छन् । ओलीले आफूलाई चेस खेलेर आएको मान्छे भन्दै बास्केटबलको मैदानमा घम्साघम्सी हुने भन्दै नआत्तिन भनेको मिश्रले उल्लेख गरेका छन् ।
भेटका क्रममा राजसंस्थाको आवश्यकता लगायतका विषयमा छलफल भएको पनि मिश्रले बताएका छन् । यस्तै ओलीले चुक्सा नक्सासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैंयाको एक मुठ्ठी सिक्का उपहार दिएको मिश्रले उल्लेख गरेका छन् । ओलीसँगको खिचाएको तस्वीर र चुच्चे नक्सा अंकित सिक्काको तस्वीर सामाजिक सन्जाल फेसबुकमा मिश्रले पोष्ट गरेका छन् ।
सत्तारुढ पाँच दलले गठबन्धन गरेर चुनावमा होमिने तय गरेपछि एमालेले समेत वाम गठबन्धनको आह्वान गरेको अवस्थामा रविन्द्र मिश्रको ओलीसँगको भेटलाई राजनीतिक गठबन्धनका रुपमा समेत हेरिएको छ । एमालेले राप्रपा तथा राप्रपा नेपालसँग केही क्षेत्रमा तालमेलको सुक्ष्म रणनीति बनाइरहेको छ ।