होटलको सिसिटिभी फुटेजमा देखिए सन्दीप

२२ भदौ , काठमाण्डौ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपको अनुसन्धानका लागि प्रहरीले प्रमाण संकलनको काम सुरु गरेको छ। नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका लामिछाने र पीडित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ।

Advertisement

भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११ः५५ मा होटल पसेको देखिएको छ। प्रमाणस्वरूप प्रहरीले काठमाडौं–९ सिनामंगलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ। प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ। सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको प्रहरी स्रोतले जनाएको छ।

किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी प्रहरीले लिएको सिसिटिभी फुटेजमा देखिएको छ । त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते फर्किएको देखिएको छ। बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिएको प्रहरी स्रोतको भनाइ छ ।

Advertisement

सन्दीपले आफूमाथि मध्यराती साढे १२ बजे पटक–पटक बलात्कार गरेको किशोरीको उजुरीमा उल्लेख छ । जाहेरी दिएपछि प्रहरीले मंगलबार नै किशोरीको स्वास्थ्य परीक्षणसमेत गराएको छ। बुधबार नै प्रमाणहरू संकलन गरी लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी छ।

घटना हुनुअघि सन्दीप र किशोरी भक्तपुरको नगरकोट पनि गएको जाहेरीमा उल्लेख गरेकी छन्। त्यहाँको पनि सिसिटिभी फुटेज संकलन गर्न प्रहरी खटिएको छ। घटनाको अनुसन्धान प्रहरी वृत्त गौशाला र परिसरले गरिरहेको छ।

Advertisement

प्रहरी स्रोतका अनुसार भक्तपुरमा सन्दीप र ती किशोरी बसेको भनिएको रिसोर्टमा पुगेर प्रहरीले सोधपुछको काम सुरु गरेको छ। लामिछाने उक्त रिसोर्टमा आएका हुन्÷होइनन्, उनी कोसँग आएका थिए, के–के खाए, त्यहाँ कति समय बसेर उनीहरु फर्किए जस्ता विषय प्रहरीले रिसोर्टमा कार्यरत व्यक्तिहरुसँग सोधपुछ गरेको छ ।

उक्त रिसोर्टमा सिसी टिभी भए त्यसदिनको फुटेज हेर्नदेखि उनीहरुको इन्ट्री रजिष्टर हेर्नेसम्मका कामहरु प्रहरीले गर्ने प्रहरी अधिकारीहरुले बताएका छन् । लामिछाने भने अहिले क्यारेबियन मुलुकमा क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका छन् । उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन। उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार भोलि (बिहीबार) बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ।

सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ । तर अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउको प्रक्रिया सुरु गर्ने प्रहरीको तयारी छ । यता क्रिकेट संघ क्यान भने अनुशन्धानमा सहयोग गर्ने भन्दै सन्दीपका विषयमा आन्तरिक छलफलमा जुटेको छ ।

भदौ ५ गते राति काठमाडौंको एक होटलमा राखेर लामिछानेले आफूमाथि बलात्कार गरेको किशोरीको भनाइ छ। जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको छ। सन्दीपले उक्त आरोपबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top