२७ भदौ ,काठमाण्डौ ।
एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गीको सङ्क्रमण देशैभर फैलिएको छ । ७७ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म देशभरका ८ हजार ३ सय जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ । डेङ्गीको सङ्क्रमणका कारण सात जनाको ज्यान गएको सूचना प्राप्त भए पनि पाँच जनाको मात्रै पुष्टि भएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाले जनाएको छ ।
शाखाका अनुसार डेङ्गी सङ्क्रमण भएर ज्यान गुमाएका पाँचमध्ये दुई जनामा अन्य कडा खालका रोगसमेत पाइएको छ । एक जनालाई कडा खालको दीर्घरोग र अर्का एक जनालाई डेङ्गीसँगै स्क्रब टाइफस पनि भएको पुष्टि भएको जनाइएको छ । दीर्घ र अन्य रोग भएकालाई डेङ्गी भएमा स्वास्थ्यमा थप समस्या हुने भएकाले यस्ता खालका बिरामीलाई बढी सचेत रहन डाक्टर दाहालको सुझाव छ । डेङ्गीबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो ।
घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ता भन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न डाक्टरको आग्रह छ । यस्तै, उच्च ज्वरो आए, जिउ दुखे, टाउको दुखे जथाभाबी औषधि नखान र अस्पताल जान पनि डाक्टरको सुझाव छ । डेङ्गी फैलिएपछि अहिले देशभर नै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालिएको छ । यो अभियान तीन महिनासम्म नै चलाउने तयारी रहेको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कात्तिक मसान्तसम्म नै डेङ्गीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।