१० असोज, काठमाण्डौ ।
गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परि केही व्यक्ति घाइते समेत भएका विवरणहरु आएका छन् । आरोही निर्मल पुर्जाले फेसबुकमा स्टाटसमार्फत मनास्लुमा हिमपहिरो गएको जानकारी दिएका छन् ।
उनले आफ्नो कम्पनीबाट गएका सबै आरोही सुरक्षित रहेको पनि बताएका छन् । यस्तै सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाण्डौबाट सामागाउँमा हेलिकप्टर पठाएको जानकारी दिए । सामागाउँ उत्तरी गोरखाको अन्तिम गाउँ हो ।
गोरखाको मनास्लु हिमाल आरोहणका लागि यो सिजनमा ३८ वटा आरोहण दलका चार सय चार जनालाई अनुमति दिएको छ । जसमा ९७ जना महिला र तीन सय सात जना पुरुष रहेका छन् । मनास्लु हिमाल शरदयाममा आरोहणका लागि लोकप्रिय मानिन्छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले घटनास्थलमा टोली गइरहेको जनाएको छ । आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताएका छन् । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताएका छन् ।
पर्यटन विभागले पनि हिमपहिरो गएको पुष्टि गरेको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपालीहरु मनास्लु आधार शिविरमा छन् । ३–४ वटा ट्रेकिङ कम्पनीको टोली आधार शिविर पुगेको छ ।