१७ असोज,एजेन्सी ।
दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला घरेलु टोली भारतले जितेको छ । गएराति भएको दोस्रो टी–२० मा पाहुना टोली दक्षिण अफ्रिकालाई १६ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला २–० ले जितेको हो । आइतबार गुवाहाटीमा भएको खेलमा छक्का, चौका र रनको वर्षा भयो ।
भारतबाट १३ र दक्षिण अफ्रिकाबाट १२ गरि कुल २५ छक्का प्रहार भए । भारतका तीन र दक्षिण अफ्रिका एक खेलाडीको २ सय माथिको स्ट्राइक रेटमा रन जोडे । भारतले २५ र दक्षिण अफ्रिकाले १५ गरि कुल ४० चौका प्रहार भए । खेलमा तीन अर्धशतक र एक शतक प्रहार भयो । दक्षिण अफ्रिकाले भारतमा पहिलो पटक टि२० आई सिरिज गुमाउन पुग्यो ।
डेथ ओभर अर्थात १६ देखि २० ओभरमा टि२० इतिहासकै सर्वाधिक बढी रन बन्यो । भारतले डेथ ओभरमा ८२ र दक्षिण अफ्रिकाले ७८ गरि कुल १० ओभरमा १ सय ६० रन बनेको थियो । यसअघि डेथ ओभरमा अष्ट्रेलिया र पाकिस्तानबीच सन् २०१० मा १ सय ४८ रन बनेको थियो ।
हिजोको खेलमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित रहँदै १ सय ६ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । यस्तै क्विन्टन डी ककले अविजित रहँदै ६९ रनको अर्धशतकीय पारी खेले । भारतका अर्शदीप सिंहले २ तथा अक्षर पटेलले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले ६१ तथा केएल राहुलले ५७ रनको अर्धशतकीय पारी खेले । विराट कोहली ४९ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका केशव महाराजले २ विकेट लिए । भारत पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टी–२० आज हुँदैछ । त्यसपछि तीन एक दिवसीय खेल हुनेछ ।