२२ असोज,काठमाण्डौ ।
नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल मृत अवस्थमा फेला परेका छन् । शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् । नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उनको निधन भएको हो । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए ।
उनी मिर्गौला फेलसहित मुटुको समेत समस्या झेलिरहेका थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराका अनुसार बानेश्वर प्रहरी वृत्तका प्रमुखसहितको टोली घटनास्थलमा पुगेको हो । यसअघि नेकपा माओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत थिए ।
सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका थिए । श्रेष्ठको हत्या अभियोगमा उनलाई सर्वोच्च अदालतले २०६६ सालमा सर्वस्वसहित जन्मकैद सुनाएको थियो । जिल्लाको फैसला सदर गर्दै सर्वोच्चले सुनाएको उक्त फैसलाका कारण उनी जेल पुगेका थिए । तर उनले २०७४ मा आममाफी पाउँदै जेलबाट छुटेका थिए ।
उनी आफूलाई जेल हालिँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै चासो नदिएको भन्दै रुष्ट थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए । उनी हाल एमालेको पोलिट्ब्यूरो सदस्य थिए । ढुंगेल माओवादीका तर्फबाट ०६४ मा ओखलढुंगाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।