२२ असोज,काठमाण्डौ ।
मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ । एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन् । शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
पोखरेलले सामाजिक सञ्जालमा दुई पार्टीबीच भएको सहमति पत्र राख्दै यसबारे जानकारी दिएका हुन् । प्रतिनिधिसभामा एमालेले जसपालाई १७ सिट दिने भएको छ । तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने भनिएको छ । सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख छ ।
एमाले र जसपाबीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको हो । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो । यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ ।
प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ । जसपाले पाएका ती १७ सिटमा प्रदेश १ का सुनसरी १ र मोरङ ५ छन् । त्यस्तै प्रदेश २ का सप्तरी १,२ र ३, सिराहा २ र ४ धनुषा १, महोत्तरी ३ र ४ सर्लाही १ र ४ रौतहट २, बारा २ र पर्सा १ र २ नम्बर क्षेत्र छन् । नवलपरासी पश्चिम, रुपन्देही ४ वा ५ तथा कपिलवस्तुको नाम सहमतिपत्रमा लेखेर मेटिएको छ ।
ती क्षेत्रमा संघमा नभएर प्रदेशमा मात्र जसपालाई एमालेले सघाउने छ । यसअघि जसपालाई दिइएको धनकुटा भने एमालेले आाफैं राखेको छ । धनकुटामा जसपाले बेग्लै उम्मेदवारी उठाउने भएको छ । उम्मेदवारी दर्ताका लागि जसपा नेता रकम चेम्जोङ धनकुटातर्फ लागेका छन् । जसपा नेताहरुका अनुसार एमालेसँग तालमेल नभएका क्षेत्रमा दुबै दलले आ–आफ्ना उम्मेदवारी दिनेछन् ।
जसपाले सत्ता गठबन्धनसँग सिट बाँडफाँटको कुरा नमिलेपछि एमालेसँग सहमति गरेको हो । जसपाले सत्ता गठबन्धनसँग आफ्नो दललाई कम्तीमा २१ सिट चाहिने अडान लिइराखेको थियो । सत्ता गठबन्धनले दिने सिटले नपुग्ने भन्दै जसले धेरै सिट दिन्छ, उतै जाने भन्दै आएको थियो ।
जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको गठबन्धन बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए । बिहीबारदेखि जसपाले एमालेसँग चुनावी तालमेलको प्रयास गरिरहेको थियो । शनिबार भने दुई पार्टीबीच सहमति भएको हो ।