Nepal Times
Nepal Times
3
Shares

च्याम्पियन्स लिगमा आज ८ खेल, मेसी बेन्चमा

च्याम्पियन्स लिगमा आज ८ खेल, मेसी बेन्चमा

२५ असोज ,एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेसी पिँडौलाको चोटका कारण आज हुने च्याम्पियन्स लिगमा बेनफिकाविरुद्धको खेल गुमाउने भएका छन् । ३५ वर्षीय मेसीले गएको साता पोर्चुगलमा सम्पन्न खेलमा बेनफिकाविरुद्ध गोल गरेका थिए ।

उक्त खेल १–१ को बराबरीमा सकिएको थियो । अर्जेन्टिनाका फरवार्ड मेसीले गएको शनिबार फ्रेन्च लिग वानमा रेम्सविरुद्धको खेल पनि गुमाएका थिए । पीएसजीले उक्त खेल गोलरहित बराबरी खेलेको थियो । जारी सिजन पीएसजीले गोल गर्न नसकेको यो पहिलो खेल हो ।

‘‘गत साता बेनफिकाविरुद्धको खेलमा मेसीले पिँडौलामा असहज महसुस गरेका थिए । अहिले उनको अवस्थामा सुधार भएको छ । तर, अझै पूरा ठिक भइसकेको छैन । उनी आगामी खेलमा पनि अनुपस्थित हुनेछन्,’’ पीएसजीका प्रशिक्षक क्रिस्टोफर गाल्टियरले भने, ‘‘तर, उनी लिगमा मार्सेविरुद्धको खेलका लागि ठिक हुनेछन् ।’’

च्याम्पियन्स लिगमा पीएसजी सात अंकसहित समूह ‘एच’को शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको बेनफिकाले पनि सात अंक नै जोडेको छ । तीन अंक जोडेको युभेन्टस तेस्रो स्थानमा छ । मेसीसँगै पीएसजीका प्रेसनेल किम्पेम्बे, नुनो मेन्डेस र रेनाटो सान्चेजले पनि घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुने बेनफिकाविरुद्धको खेल गुमाउनेछन् ।

युइएफए च्याम्पियन्स लिग अन्तरगत समूह चरणको चौथो राउन्डको खेलमा आज राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज राति समूह ‘ई’ देखि ‘एच’ का खेलमा प्रतिस्पर्धा हुँदैछ । राती १२ः४५ बजे समुह ‘ई’ मा क्रोएसियन क्लब डिनामो जाग्रिवले घरेलु मैदानमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गको सामना गर्दैछ ।

यही समूहमा इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब चेल्सीसँग सोही समयमा प्रतिस्पर्धा गर्दैछ । समूह ‘एफ’ मा स्कटिस क्लब सेल्टिकले जर्मन क्लब आरबी लाइप्जिगसँग राति १२ः४५ मा खेल्दा यो समूहमा युक्रेनी क्लब साख्तर डोनेस्कले घरेलु मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडको आतिथ्यता गर्दैछ । समूह ‘जी’ मा डेनिस क्लब एफसी कोपेनहेगनले राति १०ः३० मा बलियो इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्दैछ ।

यही समूहमा राति १२ः४५ बजे जर्मन क्लब बोरुसिया डर्टमुन्डले स्पेनिस क्लब सेभियाको आतिथ्यता गर्दैछ । समूह ‘एच’ मा इजरायली क्लब मकावी हाइफाले इटालियन क्लब युभेन्ट्सको राति १०ः३० बजे आतिथ्यता गर्दैछ । यही समूहमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पोर्चुगिज क्लब बेन्फिकासँग राति १२ः४५ बजे खेल्दैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.