२० कात्तिक, एजेन्सी ।
भारतको केन्द्रिय राजधानी नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानी बनेको छ । पहिल्ला हरेक वर्षजस्तो प्रदूषणका कारण समस्या भोगिरहेको दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ ।
साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनिएको छ । त्यस्तै प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ । विश्वको सबैभन्दा प्रदूषित राजधानी दिल्लीको हावा स्वास्थ्यको लागि गम्भीर जोखिम छ ।
धुवाँका कारण हावा दूषित भएपछि नयाँदिल्ली र आसपासका क्षेत्रमा खराब अवस्था छ । धानबाली पराल जलाउने तथा उच्च गाडीको चापका कारण नोभेम्बर महिनाको सुरुदेखि नै दिल्लीमा प्रदूषण बढेको छ । डिजेलबाट चल्ने ट्रक तथा अरु साना गाडीलाई चलाउन रोक लगाइएको छ । दिल्लीमा हावाको गुणस्तर सूचकाङ्क ४ सयमाथि पुगेको छ ।
दिल्ली एनसीआरले आज खराब हावा रेकर्ड गरेको छ। नोएडाले ’धेरै खराब श्रेणीमा ३४९ को वायु गुणस्तर सूचकांक एम क्यु आई रेकर्ड गरेको छ । जबकि गुरुग्रामको एम क्यु आई रेकर्ड ३०४ रहेको छ। ० देखि १०० सम्मको वायु गुणस्तर सूचकाङ्कलाई राम्रो मानिन्छ भने १०० देखि २००लाई मध्यम, २०० देखि ३०० खराब र ३०० देखि ४००लाई अत्यन्तै कमजोर मानिन्छ ।
यस्तै ४०० देखि ५०० वा सोभन्दा माथिको वायु गुणस्तर सूचकलाई अत्यन्तै कमजोर वा गम्भीर मानिन्छ। विज्ञले दूषित हावा बालबालिका र वृद्धवृद्धाका लागि निक्कै खतरनाक रहेको बताएका छन् । प्रदूषणका कारण श्वासप्रश्वास, खोकी, नाक बग्ने, आँखा चिलाउनेलगायतका लक्षणसहित बिरामी बढेका स्वास्थ्यकर्मीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।