२० कात्तिक, एजेन्सी ।
अष्ट्रेलियामा जारी सुपर १२ को समूह बी बाटै बाहिरिएको छ । सेमिफाइनलमा पुग्न निर्णायक खेलमा नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका स्तब्ध भएपछि भारत स्वत सेमिफाइनलमा पुगेको छ । भारत अन्तिम खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको हो । नेदरल्याण्डसलाई पराजित गरेमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्ने थियो ।
राम्रो सुरुवात गरेपनि निर्णायक खेलमा चुकेपछि दक्षिण अफ्रिका सुपर १२ बाटै बाहिरिएको छ । दक्षिण अफ्रिकाको हारले पाकिस्तान र बंगलादेशलाई पनि राहत भएको छ । अहिले यी दुई देश खेलिरहेका छन् । जसमा बंगलादेशले पाकिस्तानलाई १२८ रनको सामान्य लक्ष्य दिएको छ । अब पाकिस्तान र बंगलादेशको विजेता टोली सेमिफाइनलमा पुग्नेछन् ।
पाकिस्तानले बङ्लादेशलाई हराएको खण्डमा वा बराबरी भए पनि सेमिफाइनल पुग्नेछ । शनिबारको खेलमा जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । दक्षिण अफ्रिका ब्याटर राइली रोसोउले १९ बलमा २ चौकासहित २५ रन बनाए ।
ओपनर क्विन्टन डि कक १३ र टेम्बा बभुमा २० रनमा आउट भए । बभुमाले २० बलमा २ चौका हाने । एडेन माक्ररम र डेविड मिलर १७–१७ रनमा आउट भए । हेनरिक क्लासेन १८ बलमा १ छक्कासहित २१ रनमा आउट भए । केशव महाराज १३ रनमा आउट भए । नेदरल्यान्ड्सका ब्रेन्डन ग्लोभरले २ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए ।
फर्द क्लासेनले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । बास डि लिडेले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । नेदरल्यान्ड्सका कोलिन एकरम्यानले २६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४१ रनमा अविजित रहे ।
ओपनर स्टिफन माइबर्ग ३० बलमा ७ चौकासहित ३७ र म्याक्स ओडाउड २९ रनमा आउट भए । मध्यक्रमका ब्याटर टम कपुरले १९ बलमा २ चौका र २ छक्कासहित ३५ रन जोडे । कप्तान स्कर्ट एडवार्ड्सले १२ रन बनाए । दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्कियाले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिए ।
स्पिनर केशव महाराजले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । एडेन माक्ररमले एक विकेट लिए । सुपर १२ को समूह ए बाट न्यजिल्यान्ड समूह विजेता र इंग्ल्यान्ड उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । ग्रुप २ मा भारतको ४ खेलबाट ६ अंक छ । पाकिस्तान र बंगलादेशको समान ४ अंक छ ।