२१ कात्तिक, एजेन्सी ।
ट्वीटरका सीईओ इलोन मस्कले अरुको नाममा बनाइएका कुनै पनि नक्कली ह्यान्डलहरू ‘स्थायी रूपमा सस्पेन्ड’ गरिने बताएका छन् । स्पष्ट रूपमा ‘प्यारोडी’ भनेर निर्दिष्ट नगरी अरुको नाममा बनाइएका कुनै पनि नक्कली ह्यान्डलहरू हटाइने उनले बताए ।
‘पहिले हामीले सस्पेन्सन हुनुअघि चेतावनी दिन्थ्यौँ, तर अब हामीले व्यापक प्रमाणीकरण ल्याएसँगै, कुनै चेतावनी दिइनेछैन,’ उनले आइतवार ट्वीटमा भनेका छन् । कुनै पनि तवरमा नाम परिवर्तन गरे प्रयोगकर्ताले ‘भेरिफाइड चेकमार्क’ अस्थायी रूपमा गुमाउने समेत उनले बताए ।
आइतवार साँझ आफ्नो नाम इलोन मस्कको नाममा परिवर्तन गर्ने धेरै अकाउन्टहरूलाई ट्वीटरले सस्पेन्ड गरेको छ । जसमा अमेरिकी हास्य कलाकार क्याथी ग्रिफिन र अस्ट्रेलियाको व्यंग्यात्मक वेबसाइट द चेजरलगायत रहेका छन् । मस्क यसअघि ट्वीटरमा गरिने स्थायी प्रतिबन्धको विरोधमा थिए ।
हालका प्रतिबन्धको रक्षा गर्दै मस्कले आफू अझै पनि वाक स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । ७.९९ डलरको मासिक शुल्कसहित ‘ब्लू–टिक’को योजनाबद्ध रोलआउटको बारेमा आएका अनिश्चितताका बिचमा यस्ता नीति आएको हो । यो नयाँ सुविधा ‘ट्वीटर ब्लू’को फिचर हो ।
तर, प्रयोगकर्ताहरूले प्रमाणिकरण किनेर राजनीतिक व्यक्तित्वको रुपमा चुनावी भ्रम छर्न सक्ने चिन्ताका बिच ‘ट्वीटर ब्लू’को नयाँ सुविधा अमेरिकी मध्यावधि चुनावपछि सम्मको लागि सारिएको न्यूयोर्क टाइम्सको रिपोर्टमा उल्लेख छ ।
ट्विटरका ७ हजार ५०० कर्मचारीमध्ये आधाको कटौती गरिएको रिपोर्टले उत्पन्न संकटका बिचमा ट्वीटरमा ईन्जिनियरिङ टोलीहरूले तीव्र गतिमा नयाँ सुविधाका फिचरहरुमा काम गरिरहेका छन् ।
कामबाट हटाइएका दर्जनौँ कर्मचारीलाई फिर्ता बोलाइएको आइतवार राति आएका रिपोर्टहरूमा उल्लेख गरिएको थियो । उनीहरूलाई या त गल्तीले हटाइएको या मस्कले चाहेका नयाँ सुविधाहरू निर्माण गर्नको लागि महत्त्वपूर्ण रहेको कम्पनीले महसुस गरेको हुनसक्ने बताइएको छ ।