Nepal Times
Nepal Times
612
Shares

नेपालले घरेलु मैदानमा जित्यो यूएईविरुद्धको पहिलो सिरिज

नेपालले घरेलु मैदानमा जित्यो यूएईविरुद्धको  पहिलो सिरिज

२ मंसिर, काठमाण्डौ ।
घरेलु टोली नेपालले भ्रमणकारी टोली यूएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले आफ्नो बनाएको हो । युएईले दिएको १ सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा ४ विकेट गुमाएर १ सय ८० रन जोड्दै पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ खेले । दुई पटक जीवनदान पाएका आसिफले अविजित रहदै सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ खेले । उनले १ सय १९ बलमा १२ चौका प्रहार गरे । यस्तै मल्लले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनको योगदान दिए ।

कप्तान रोहित पौडेलले १० तथा ओपनर अर्जुन साउद ९ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी सुन्य रनमा रन आउट भए । हरिशंकर साह सुन्य रनमा अविजित रहे । युएईका हजरत बिलाल र आयन अफजल खानले १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

युएईका लागि आयन अफजल खानले अविजित रहदै सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले । नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २÷२ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले १÷१ विकेट लिए । यो नेपालले घरेलु मैदानमा पहिलो पटक द्विपक्षीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको हो ।

सिरिज अन्तर्गत पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।यस्तै कप्तान रोहित पौडेलले आफ्नो कप्तानी डेब्युमै नेपाललाई एकदिवसीय अन्तराष्ट्रिय सिरिज जिताएका छन् । सन्दीप लामिछाने निलम्बन भएपछि क्यानले यसै सिरिज अघि रोहितलाई कप्तानी दिएको हो ।

नेपालले पहिलो पटक घरेलु द्विपक्षीय एकदिवसीय शृंखला जितेको हो । यसै वर्षको मार्चमा नेपालले घरेलु मैदानमा खेलेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पपुवा न्यू गिनीसँग २–० ले पराजित भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.