Nepal Times
Nepal Times
126
Shares

धनगढीमा निषेधाज्ञा तोडियो, प्रर्दशन नियन्त्रण बाहिर

धनगढीमा निषेधाज्ञा तोडियो, प्रर्दशन नियन्त्रण बाहिर

१६ मंसिर, काठमाण्डौ ।
ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि न्यायको माग गर्दै बिहानैदेखि प्रदर्शन थालिएको छ । निषेधाज्ञा लागु गरिएको घटनास्थल आसपासको क्षेत्रमा जम्मा भएका स्थानीय र विद्यार्थीले चेतनालाई न्याय माग्दै प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित पिपलचौतारा नजिकै कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको विरोधमा बालिका अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीले बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए भने आन्दोलनकारी घटनास्थलबाट शव उठाउन दिएका थिएनन् । स्थानीय प्रशासनले बिहीबार साँझ घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागु गर्दै शव उठाएको थियो तर स्थानीयले भने उनको शव लैजाने क्रममा समेत नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

अझ विद्यार्थीहरुले कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका बेला प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएपछि स्थानीय थप आन्दोलित भएका छन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै नाराबाजी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले स्थिति सामान्य नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा यथावत रहेको बताएका छन् । उनले पीडित पक्षलाई छलफलका लागि बोलाइएको जानकारी पनि दिएका छन् ।

निषेधाज्ञा गरिएका क्षेत्रमा पूर्वमा धनगढी उपमहानगरपालिका १, पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा वडा नं. ४ रातोपुल, उत्तरमा वडा नं. ५ सामुदायिक प्रहरी सेवा केन्द तथा दक्षिणमा वडा नं. १ र २ स्थित हुलाकी राजमार्ग रहेका छन् ।

ग्रेडर दुर्घटनाबाट विद्यार्थीको मृत्यु भएपछिको स्थितिलाई मध्यनजर गर्दै हिजो साझ देखि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको आदेशमा उल्लेखित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरु आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन निषेध गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.