Nepal Times
Nepal Times
117
Shares

विराटनगरका मेयरको घरकै अवैध संरचनामा डोजर चल्यो

विराटनगरका मेयरको घरकै अवैध संरचनामा डोजर चल्यो

२१ मंसिर, विराटनगर ।
काठमाडौं महानगरका मेयर वालेन्द्र शाह बालेनले नगरका अवैध संरचना हटाउन सुरु गरेको डोजर अभियानले देशका विभिन्न नगरमा निरन्तरता पाउन थालेको छ । काठमाडौपछि पोखरा, ललितपुर, वुटवल लगायतका शहरसँगै पछिल्लो समय प्रदेश १ को सुनसरी स्थित इनरुवा नगरपालिका र प्रदेश १ को राजधानीसमेत रहेको मोरङको विराटनगर महानगरपालिकाले समेत नगर भित्रका अवैध संरचनामा डोजर लगाउन सुरु गरेको छ ।

विराटनगरको डोजर अभियानको रोचक पक्ष भनेको चाँही यो अभियानको सुरुवात महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभियानको सुरु गरिएको हो ।

नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याकलगायतका अवैध संरचना हटाएको छ । नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए।

उनले ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बल प्रयोग गरेर हटाउनु परेको बताएका छन् । परिवर्तन गर्न आफैंबाट सुरु गर्नुपर्छ भन्ने भनाइलाई चरिचार्थ गर्दै आफ्नै घरमा रहेका पसल सञ्चालकले बनाएका अवैध संरचना हटाएर अभियान सुरु गरेको उनले बताएका छन् । विराटनगर अब यथास्थितिमा बस्न सक्दैन, विराटनगर प्रदेशको राजधानी पनि हो ।

यसलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने हाम्रो लक्ष्य छ । मेयर कोइरालाले भनेका छन् ,विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गर्दछु ।” महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

सार्वजनिक सूचना जारी र पटक–पटक माइकिङ गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बाध्य भएर अभियान सञ्चालन गर्नुपरेको मेयर कोइरालाले बताएका छन् । अभियानअन्तर्गत मेयर कोइरालाको घरमा सञ्चालित पसलका साथै महानगर कार्यालय अगाडि रहेका पसल, वडा नम्बर ९ को कार्यालय, बुधहाट चोकस्थित वी प्लटमा अवस्थित पसलमा निर्माण गरेका अवैध संरचना हटाइएको छ ।

अभियानलाई हरेक दिन सञ्चालन गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । महानगरले सुरु गरेको अभियानप्रति विराटनगरको नागरिक समाजले समेत खुसी व्यक्त गरेको छ । अवैध संरचना हटाउने अभियान महानगरका १९ वटै वटामा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

मेयर कोइरालाले जभाभावी फोहोर गर्ने र बजारको सौन्दर्यकरणमा ह्रास आउने काम गर्नेलाई तत्काल कारबाही गर्ने अधिकार सफाई शाखाका प्रमुख पुनम दाहाल र नगर प्रहरीका प्रमुख राजन पौडेललाई दिइसकेका छन् । जथाभावी टाँगेका अनावश्यक केवल र नेटका तार हटाउने अभियान पनि सुरु भइसकेको छ । केही दिन अघि केवल प्रदायक संस्थाका प्रतिनिधिहरूलाई बोलाएर मेयर कोइरालाले तारलाई तत्काल व्यवस्थित गर्न निर्देशन दिएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.