२७ मंसिर,एजेन्सी ।
भारत र चीनका सैनिकहरूबीच फेरि सीमामा झडप भएको छ । भारतीय समाचार पत्र द हिन्दुका अनुसार अरूणाचलको सिमानामा गत शुक्रबार झडप हुँदा कयौं भारतीय सैनिकहरू घाइते भएका छन् । सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै हिन्दुले याङ्जी तवाङ क्षेत्रमा भएको झडपका क्रममा चिनियाँ सैनिक पनि घाइते भएको उल्लेख गरेको छ ।
घाइते भएका भारतीय सैनिकहरूलाई उपचारका लागि गुवाहटी लगिएको छ । भारत—चीन विवादित सीमा क्षेत्रस्थित ‘लाइन अफ एक्चुअल कन्ट्रोल’मै उनीहरुबीच तनाव भएको हो । अरुणाचल भारत र चीनको विवादित भूभाग हो, जुन अहिले भारतको कब्जामा छ ।
सन् २०२० को जुनमा लद्दाखको गल्वान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच झडप भएको थियो । उक्त झडपमा २० जना भारतीय सैनिक मारिएका थिए । उक्त झडपमा मारिएका आफ्ना सैनिकबारे चीनले औपचारिक जानकारी दिएको छैन । त्यसयता एसियाका यी दुई छिमेकीबीच चिसिएको सम्बन्धमा सुधार आउन सकेको छैन ।
चीन र भारतबीच संसारकै सबभन्दा लामो सीमा विवाद छ । हिमालयका दुर्गम उपत्यका, खोंच, टाकुरा, पाटनमा भारतीय र चिनियाँ सैनिक छ दशकदेखि आमने–सामने छन् । उक्त क्षेत्रमा रणनीतिक महत्वका पूर्वाधार बनाउन उनीहरूबीच प्रतिस्पर्धा छ । दुवै देशले सैन्य बजेटको ठूलो हिस्सा त्यही हिमालयको वारिपारि खन्याएका छन् ।
यो क्रम बर्सेनि बढ्दो छ । सैनिक र कुटनीतिक तहमा पटक—पटक वार्ता भए पनि सम्बन्ध पूर्ववत् अवस्थामा फर्किन सकेको छैन । पछिल्लोपटक अक्टोबर २०२१ मा तवाङ्देखि ३५ किलोमिटर उत्तरपूर्वको याङ्सेमा चिनियाँ र भारतीय सैनिक आमनेसामने भएका थिए ।
चिनियाँ सैनिक १७ हजार फिटमाथिको पहाडमा उक्लिने प्रयास गरेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । यद्यपि अहिले उक्त क्षेत्र हिउँले ढाकेको छ । सन् १९६२ को युद्धमा चीनले तवाङका केही क्षेत्र आफ्नो कब्जामा लिएको थियो ।
सन् १९८६–८७ मा तवाङ नजिकैको सुमदोरोङ उपत्यकामा चीनसँग भिडन्त भएको थियो । अहिले ३६ वर्षपछि तवाङमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ । पेन्टागनले यसअघि नै अरुणाचलबारे चेतावनी दिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।