Nepal Times
Nepal Times
81
Shares

साढे ३ लाख खर्चेर सोविताले चुनाव जितिन्

साढे ३ लाख खर्चेर सोविताले चुनाव जितिन्

२९ मंसिर,काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ बाट मा निर्वाचित भएकी सोविता गौतमले निर्वाचन आयोगलाई आफ्नो चुनाव खर्च बुझाएकी छन् । उनले चुनावमा आफ्नो ३ लाख ७१ हजार खर्च भएको बुझाएकी हुन् । प्रतिनिधिसभाको निर्वाचनको खर्च सार्वजनिक भएका मध्ये यो सबैभन्दा कम चुनाव खर्च हो ।

उनले मतदाता नामावली खरिदमा ३ हजार, १३ दिनसम्म गाडी रिजर्भ गर्दा ७८ हजार, पेट्रोल÷डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख गरेकी छन् । यस्तै, कार्यालय स्थापनामा ५ हजार, कार्यालयको भाडा, कर्मचारी, स्टेशनरी पानी र बत्तीको गरी ३५ हजार, फ्लेक्समा प्रचार सामग्री बनाएको २० हजार, प्रतिनिधि परिचालनमा १५ हजार र विविधमा २५ हजार खर्च भएको बताएकी छन् ।

 

उनले माओवादी केन्द्रकी पूर्व सभामुखसमेत रहेकी ओनसरी घर्ती मगर र एमालेका मणिराम फुयाललाई हराएकी थिइन् । मंसिर ४ को निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार बनेर निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा २६ लाख १२ हजार रूपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका छन् ।

यस्तै काठमाडौं १ बाट चुनाव लडेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले निर्वाचनमा साढे २४ लाख खर्च गरेको विवरण आयोगमा बुझाएका छन् । यसैबीच प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी निर्वाचित भएकी छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डाँगी २५ वर्षकी मात्रै हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि २५ वर्ष पुगेको हुनुपर्ने व्यवस्था अनुसार उनी २५ वर्षकी मात्रै रहेकी छन् । दोस्रोमा सबैभन्दा कम उमेरकी सांसद पनि रास्वपाकै २६ वर्षकी विनीता कठायत छिन् । उनी पनि समानुपातिक प्रणालीबाट निर्वाचित भएकी हुन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट पनि रास्वपाबाटै काठमाडौं क्षेत्र नम्बर २ मा २७ वर्षकी सोबिता गौतम निर्वाचित भएकी थिइन ।

रास्वपाले पेश गरेको बन्दसूचीमा खस आर्यबाट गणेश कार्कीको नाम दोस्रोमा भए पनि चलखेल गरेर डाँगीको नाम सिफारिस गरेको भन्दै रास्वपाकै कार्कीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए । यस्तै दलित महिला समूहको पहिलो नम्बरमा रहेकी कल्पना रोक्काले पनि आफूलाई सिफारिस नगरेर पार्टीले दलित समूहबाट दुवै जना पुरुष सिफारिस गरेको भन्दै विरोध गरेकी थिइन ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.