२ पौष , काठमाण्डौ ।
काठमाडौं क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सोविता गौतम यतिबेला सामाजिक संजालमा आलोचना र प्रश्नहरुले घेरिएकी छिन् । ३ वर्षअघि उनले एक अन्तरवार्ताका क्रममा बलात्कारबारे बोलेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जसलाई लिएर उनी प्रश्नको घेरामा परेकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिताले सो भिडियोमा बलात्कारलाई समाजले ठूलो विषय बनाएको, यसको नाममा डलर ल्याइएको र यसलाई सामान्यीकरण गर्नुपर्ने बताएकी छन् । जसप्रति महिला अभियन्ता एवं अधिकारकर्मीहरूले आपत्ति जनाएका छन् ।
अन्तर्वार्तामा उनले बलात्कार भएकी महिला र दुई खुट्टा काटिएकी महिलामा पछिल्लोचाहिँ बढी पीडित हुने, बलात्कृत महिला खासै पीडित नहुने तर्क गरेकी छन् । उनको उक्त भनाइविरुद्ध सामाजिक सञ्जालमा व्यापक विरोध÷आलोचना भइरहेको छ ।
उक्त भिडिओ सेयर गदृै राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य एवं महिला अधिकारकर्मी मोहना अन्सारीले भनेकी छन्, ‘बलात्कार सामान्य हो तर खुट्टा काटिनु ठूलै रहेछ! बलात्कृतको शरीर सद्दे हुन्छ र बलात्कार हुनु सामान्य हो भन्ने सासंद केही दिनमा संसद् प्रवेश गर्दै छिन् । सोच्नुस् कस्तो भविष्य हुने छ बालिकाको? न्यायको माग गर्नु डलर ल्याउनु रहेछ!’
यसैगरि सुशील देवकोटाले पनि सांसद गौतमको धारणाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । उनले ट्विटरमा आशा गरिएका युवा पुस्ताबाट यस्तो के सुन्नु पर्यो भन्दै आक्रोश पोखेका छन् ।
सामाजिक संजालमै अमृता लम्सालले पनि सोबिता गौतमको आलोचना गरेकी छन् ।उनले भनेकी छन्, ‘सोबिता गौतमजी, केही दिनअगाडि तपाईंको स्पष्ट विचार र आत्मविश्वासले भरिएको भिडिओ क्लिपबाट प्रभावित भएर सेयर गरेकी थिएँ। मैले सेयर गरेको भिडिओको सन्देश मेरै वालबाट पनि हजारौंले हेर्नुभएको थियो। एउटा युवा नेतृत्वले आशा र भरोसा जगाएको महसुस भएको थियो। तर, त्यो भिडिओ (लिंक, तल छ) अर्धसत्य मात्रै रहेछ । भ्रम चिर्ने भिडिओ त यता पो भेटेँ। तपाईंको बुझाई देखेर निःशब्द भएँ।’
यस्तै ट्वीटरमै आभा लेख्छिन्, ‘यो के भनेकी यिनले? बलात्कारलाई यसरी सामान्यीकरण कसरी गर्न सकेकी? नवोदित एक आशालाग्दी मान्छेको अपराधप्रतिको यस्तो दृष्टिकोण!’ । बलात्कारबारे आफूले बोलेको भिडियोमा विरोध जनाउँदै सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे सोविताले पनि प्रतिक्रिया व्यक्त गरेकी छिन् ।
शनिबार सामाजिक सञ्जालमार्फत गौतमले सो बेला आफूले बोलेको कुरा यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरुप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनःस्थापना सहज हुनसक्छ भन्ने मेरो आशय रहेको प्रष्ट पारेकी हुन् । सो कुरा प्रष्ट पार्न प्रयोग गरेको उदाहरण असंवेदनशील भयो भनेर सामाजिक सञ्जालमा जनाईको आपत्तिलाई आफूले मनन गरेको उल्लेख गरेकी छिन् ।
सो बेलाको दिएको उदाहरण आजको अवस्थामा प्रयोग नगर्ने बताउँदै उनले अहिले आफू परिष्कृत भइसकेको बताएकी छिन् । उनले भनेकी छिन– ‘अध्ययन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ । पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर सर्वाइवर वा प्रभावित शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो । यहाँहरुको प्रश्नले मलाई थप संवेदनशील हुन घच्घच्याएको छ । अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ ।’