४ पौष ,एजेन्सी ।
भर्चुअल रुपमै भएपनि युद्ध मैदानमा भिडन्त गरेको महसुस गराउने अनलाइन गेम पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली अन्तिम चरणमा पुगेका छन् । चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर १० देखि मलेसियामा आयोजना गरेको प्रतियोगितामा सहभागी नेपालका द रियल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टिटुके) अन्तिम चरणमा पुगेका हुन् ।
सेमिफाइनल चरण पार गरेका नेपाली दुई टोलीले आगामी जनवरी महिनामा हुने फाइनलमा विभिन्न देशका १४ समूहविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ । पब्जीको विश्वकप प्रतियोगितामा विश्वभरबाट ४८ समूहले सहभागिता जनाएका थिए । नेपालबाट डीआरएस, टिटुके र स्काइलाइट्स गेमिङले सहभागिता जनाएका थिए । स्काइलाइट्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।
प्रतियोगिताको १६ टोलीको सूचीमा नेपालको डीआरएस पाँचौ स्थानमा छ । पहिलोमा भियतनामको टोली छ । प्रतियोगिताको अन्तिम चरणमा पुगेका १६ वटै टिमले पुरस्कार पाउने भएकाले नेपाली दुई टोली डीआरएस र टिटुकेले कम्तिमा एक–एक करोड रुपैयाँ पाउने निश्चित भएको छ । यो प्रतियोगिताको कूल पुरस्कार रकम ८४० लाख अमेरिकी डलर छ ।
उक्त रकम १६ वटै टोलीलाई उनीहरुले प्राप्त गरेको अंकको आधारमा बाँडिन्छ । खेलमा उनीहरुले बढाउने अंकको आधारमा रकम पनि थपिंदै जान्छ । बीबीसी नेपाली सेवासँगको कुराकानीमा टिटुकेकी व्यवस्थापक संगिता गुरुङले आफूहरुले ८० हजार डलर पाउने सुनिश्चित गरेको बताएकी छन् । यसैगरी डीआरएसका व्यवस्थापक संगीन भट्टराईले आफ्नो समूहले ७२ हजार डलर सुरक्षित गरिसकेको बताएका छन् ।