Nepal Times
Nepal Times
594
Shares

कतारमा ज्यान गुमाउने नेपालीका परिवारलाई मिस वल्र्डले सघाउने

कतारमा ज्यान गुमाउने नेपालीका परिवारलाई मिस वल्र्डले सघाउने

४ पौष ,एजेन्सी ।

साविक विजेता फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले तेस्रो पटक उपाधि उचालेसंगै कतार विश्वकप २०२२ आइतबार सम्पन्न भएको छ । कतारमा भएको यो विश्वकप अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता बनेको फिफाको दाबी छ । फाइनल खेलको एक दिनअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकपलाई अहिलेसम्मको सर्वश्रेष्ठ भन्दै प्रशंसा गरेका थिए ।

तर यो विश्वकपका लागि १२ वर्षदेखि कतारले विभिन्न पूर्वाधार निर्माणका क्रममा श्रमिकहरुमाथि शोषण र ज्यादती भएको, कतारले आप्रवासी श्रमिकको चिहानमाथि प्रतियोगिता गराएको भन्दै अर्कोतर्फ आलोचना र विरोधहरु पनि भइरहेका छन् । कतारमा विश्वकप फुटबलको पूर्वाधार बनाउन करिब ५ लाख नेपालीले पनि श्रम गरेका छन् ।

त्यस क्रममा १ हजार ८ सयभन्दा बढी नेपालीको मृत्यु भएको छ । तर मृतकका परिवारले कतार सरकारबाट क्षतिपूर्ति पाएका छैनन् । अन्तर्राष्ट्रिय समुदायबाट दबाब हुँदा पनि कतार सरकार मौन छ । यति धेरै श्रमिकको मृत्यु हुँदा पनि कतार सरकारले कुनै प्रतिक्रिया जनाएको छैन ।

न त नेपाल सरकारले नै आफ्ना नागरिकलाई क्षतिपूर्ति दिलाउन कूटनीतिक पहल नै गरेको छ । तर यसैबीच आशाको सानै भएपनि दियो बलेको छ । कतारमा विश्वकप फुटबलका लागि रंगशाला निर्माण गर्ने क्रममा ज्यान गुमाउने नेपालसहित अन्य मुलुकका आप्रवासी कामदारको परिवारलाई विश्वसुन्दरी प्रतियोगिताले सहयोग गर्ने भएको छ ।

मिस वर्ल्डका सहअध्यक्ष दीपेन्द्र गुरुङले संस्थाको सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कतारमा रंगशाला निर्माणका क्रममा ज्यान गुमाउने एक हजारभन्दा बढी नेपाली कामदारका परिवारलाई सघाउने बताएका हुन् ।

विश्वकपको फाइनल खेल हेर्न दोहा पुगेका उनले इन्स्टाग्राम पोस्टमार्फत मिस वर्ल्डको आगामी ७१ औं संस्करणको ब्युटी विथ पर्पस कार्यक्रममार्फत मृतक कामदारका बालबच्चा, विधवा र बाबुआमालाई सम्बोधन गरिने जनाएका छन् ।

ब्युटी विथ पर्पस परियोजना विश्वसुन्दरी प्रतियोगिताको महत्वपूर्ण सबटाइटल तथा सामाजिक कार्यक्रम हो । यो परियोजना अन्तर्गत रहेर विश्वसुन्दरी प्रतियोगिताका प्रतिस्पर्धीले सामाजिक कार्य गर्दै आएका छन् । रंगशाला निर्माणमा खटिएका नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्सका आप्रवासी कामदारका परिवारलाई सघाउने उनले जनाएका छन् ।

‘ज्यान गुमाउने कामदारप्रति नेपाल सहानुभूति व्यक्त गर्छ,’ उनले उल्लेख गरेका छन् । सहअध्यक्ष गुरुङले उक्त पोस्टमा रंगशाला र नेपालको राष्ट्रिय झण्डाको तस्वीर पनि प्रस्तुत गरेका छन् । गुरुङले सन् २०२३ को विश्वसुन्दरी प्रतियोगिताको संस्करणबाट औपचारिक रुपमा मिस वल्र्डको सहअध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दैछन् ।

नेपालसहित विभिन्न मुलुकका श्रमिकलाई न्याय दिन विश्वभरबाट आवाज उठिरहेको छ । अहिले पनि एमनेस्टी इन्टरनेसनल लगायतका मानवअधिकारवादी संस्थाले कतारलाई मात्र नभएर विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई समेत दबाब दिइरहेका छन् । उनीहरूले नेपाल सरकारलाई पनि कूटनीतिक पहल गर्न घचघच्याउँदै आएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.