१९ पौष, एजेन्सी ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्वका एक तिहाइ देशहरु आर्थिक मन्दीमा पर्ने चेतावनी दिएको छ । आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्वका प्रमुख अर्थतन्त्र भएका देश सुस्ताउँदा अघिल्लो वर्षको तुलनामा २०२३ झन् ’कठिन’ हुने बताएकी हुन् ।
जर्जिएभाले अमेरिका, युरोप र चीनको अर्थतन्त्र सुस्त देखिएको बताइन् । आउँदो मन्दीको मुख्य कारण रुस–युक्रेन युद्ध, बढ्दो मुद्रास्फीति, उच्च ब्याज दर हो । यसबाहेक चीनमा फैलिएको कोभिड प्रकोपले विश्वव्यापी अर्थतन्त्रलाई नै धक्का दिएको छ । मन्दीको पूर्व संकेतलाई मध्यनजर गर्दै अक्टोबरमा आइएमएफले २०२३ को लागि विश्वव्यापी आर्थिक वृद्धिदरको लक्ष्य कटौती गरेको थियो ।
सुस्त अर्थतन्त्रका कारण विश्वव्यापी आर्थिक वृद्धिदर २०२३ मा २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण आइएमएफले गरेको छ । जुन विश्वव्यापी वित्तीय संकट र कोभिड–१९ महामारीलाई पन्छाउने हो भने २००१ पछिको सबैभन्दा कमजोर वृद्धिदर हो । आर्थिक वृद्धि सन् २०२२ मा ३.२ प्रतिशतमा ओर्लिएको हो, जुन २०२१ मा ६ प्रतिशत थियो ।
’हामी विश्वका एक तिहाइ देशहरु मन्दीमा पर्ने प्रक्षेपण गर्दैछौं,’ आइएमएफकी प्रबन्ध निर्देशक जर्जिएभाले सीबीएसको ’फेस द नेसन’ कार्यक्रममा भनेकी हुन् । मन्दीमा नभएका मुलुकका करोडौं मानिसले मन्दी जस्तो अवस्था महसुस गर्ने उनको टिप्पणी छ ।
आइएमएफले रुस–युक्रेन युद्ध र निरन्तर बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकहरूले बढाएको ब्याजदरका कारण आर्थिक वृद्धिदर घटाएको थियो । जसलगत्तै चीनले आफ्नो जिरो–कोभिड पोलिसी खारेज गरेको हो । र, आफ्नो अर्थव्यवस्था पुनः खोल्न थालेको छ । यद्यपि चीनमा कोरोना भाइरस संक्रमण द्रुत गतिमा फैलिने क्रम जारी छ ।
जर्जिएभाले विश्वको दोस्रो ठूलो अर्थतन्त्र, चीनले सन् २०२३ मा कठिन सुरुवातको सामना गर्ने चेतावनी समेत दिएकी छन् । ’आगामी केही महिना चीनका लागि कठिन हुनेछ र चिनियाँ वृद्धिमा प्रभाव नकारात्मक हुनेछ । जसले गर्दा विश्वव्यापी आर्थिक वृद्धिमा प्रभाव नकारात्मक हुनेछ,’ उनले भनेकी छन् ।
जर्जिएभाको टिप्पणी अनुसार विश्वभरका मानिसहरूका लागि चिन्ताजनक अवस्था हुनेछ । झन् २०२२ मा कठिन अवस्थासँग जुधेका एसियाली देशहरुलाई थप प्रभाव पर्ने उनले बताएकी छन् । एसियाली मुलुकहरुमा युक्रेनको युद्धका कारण मुद्रास्फीति निरन्तर बढिरहेको छ ।
र, उच्च ब्याजदरले यस क्षेत्रका घरपरिवार र व्यापारलाई पनि असर गरेको अवस्था छ । तथ्यांक अनुसार, सन् २०२२ को अन्त्यसम्म चिनियाँ अर्थतन्त्र कमजोर भएको देखिएको छ । कोरोना संक्रमण फैलिएको कारणले झन्डै तीन वर्षयता सबैभन्दा छिटो दरमा चीनका औद्योगिक गतिविधिहरू साँघुरिँदै गएका छन् ।
अमेरिकामा आएको मन्दीको कारण पनि चीन, थाइल्याण्ड र भियतनाम लगायत एसियाली मुलुकहरूमा बनाइएका उत्पादनहरूको माग कम छ । उच्च ब्याजदरले कर्जा पनि महँगो बनाएको छ । दशकौंदेखि एसिया–प्रशान्तका मुलुकहरु प्रमुख व्यापार साझेदार र संकटको समयमा आर्थिक सहयोगका लागि चीनमा निर्भर छन्।
अहिले पनि एसियाली अर्थतन्त्र चीनले कोभिड महामारी सम्हाल्न नसकेको प्रभावको सामना गरिरहेका छन् । जुन बेइजिङले जिरो–कोभिड पोलिसी अन्त्य लगत्तै ट्रयाकमा फर्कने प्रक्षेपण छ । टेस्ला कार र एप्पल आइफोन जस्ता उत्पादनहरूको व्यवसाय पनि पुरागमन हुने बताइएको छ । तर, तेल र फलाम जस्ता वस्तुहरूको माग बढेलगत्तै मुद्रास्फीति चरम सीमामा पुग्ने सम्भावना छ ।