विराटनगर,भदौ १२
बिपन्न बिरामीलाई लक्षित गरी गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको भाउन्नेमा शिविर सञ्चालन गरी ३ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । बेलवारी–१० भाउन्ने स्थित महेन्द्र माध्यमिक बिद्यालयमा गरिएको स्वास्थ्य शिविरबाट ३ सय ७ जना बिरामीले निःशुल्क उपचार सेवा लिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
शिविरमा ६३ जनाको भिडियो एक्सरे, ४७ जनाको ल्यावटेष्ट र २३ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले जानकारी दिए । शिविरमा आँखा रोग, हाडजोर्नी तथा नसा सम्बन्धि समस्या र मेडिसिनमा बढी मात्रामा बिरामीले उपचार गराएका छन् । नोबेल अस्पतालका बिषेशज्ञ डाक्टरसहित २२ जनाको टोली बिरामीको उपचारमा खटिएको थियो ।
शल्यक्रिया गर्नुपर्ने तथा गंभीर प्रकृतिका ४९ जना बिरामीलाई थप उपचारका लागि शिवरबाट नोबेल अस्पताल रिफर गरिएको छ । शिविरबाट रिफर भएका बिरामीलाई नोबेल अस्पताल ल्याउँन गाडीको ब्यवस्था मिलाउने र बिरामीको अवस्था हेरी उपचारमा छुट र निःशुल्क उपचारसमेत गरिने नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । यसैवीच, शिविरबाट धेरै राहत मिलेको उपचारमा आएका बिरामीले प्रतिक्रिया दिएका छन् ।
बिपन्न बिरामीलाई लक्षित गरी पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क शिविर गर्दै आएको नोबेलले केहि दिन अघि पनि मोरङको बैजनाथपुर र बेलवारी स्थित धरहरामा शिविर सञ्चालन गरी १ हजार ३ सय बिरामीको निःशुल्क उपचार गरेको थियो । नियमित निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको नोबेलले गत आर्थिक बर्ष शिविर मार्फत ४९ हजार बिरामीको निःशुल्क उपचार गरेको छ ।