२८ पौष, एजेन्सी ।
अफगानिस्तानको विदेश मन्त्रालय बाहिर आत्मघाती बम विस्फोट गराइएको छ । राजधानी काबुलमा रहेको मन्त्रालय बाहिर भएको विस्फोटमा हालसम्म ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तर एक तालिबानी अधिकारीले भने २० जनाको मृत्यु भएको बताएका छन् । विस्फोटमा ४० जना घाइते भएका छन् । हिजो बेलुका बम विस्फोट भएको हो ।
आत्मघाती विस्फोट गराउन आएको व्यक्तिले मन्त्रालय भित्रै पसेर विस्फोट गराउन योजना बनाएको खुलेको छ । तर, मन्त्रालयमा प्रवेश गर्न नसकेपछि बाहिर नै विस्फोट गराइएको हो । बम विस्फोट भएको क्षेत्रमा चीन, टर्किए लगायतका राष्ट्रका राजदूतावास रहेका छन् ।
विस्फोट हुँदै मन्त्रालय भित्र चिनियाँ र अफगानिस्तानको तालिवानी अधिकारीबिच वार्ता हुन गइरहेको थियो । यो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट खोरासन प्रान्तले लिएको छ । तीन दिनअघि पनि यस्तै बम विस्फोटमा परि १० जनाको ज्यान गएको थियो र ८ जना गम्भिर घाइते भएका थिए ।
सो हमला काबुल मिलिट्री एयरपोर्ट बाहिर भएको थियो । संघर्षरत तालिबानमा पछिल्ला केही महिनाहरुमा कयौं आतंकी हमलाहरु भएका छन् । जसमध्ये केही आक्रमण इम्लामिक स्टेटले गराएको थियो । यस्तै केही महिनाअघि काबुलमा एक चिनियाँ नागरिकले संचालन गरेको होटलमा पनि आइएसले निशाना बनाएको थियो ।
सन् २०२१ अगस्टदेखि तालिबान समूहले अफगानिस्तानको सत्ता सम्हालेको हो । त्यसयता यहाँ इस्लामिक स्टेट निकै सक्रिय भएको छ । उसले एकपछि अर्को हमला गर्दै आएको छ । इस्लामिक स्टेटले तालिबानी शासक आफ्नो विचारधाराबाट भट्किएको र उ पश्चिमी देशहरुको इशारामा नाचेको आरोप लगाएको छ ।