२८ पौष, एजेन्सी ।
युक्रेन युद्धमा रुसी सेनाको कमाण्ड सम्हालिरहेका सर्गेई सुरोभिकिन बखास्तमा परेका छन् । शीर्ष कमान्डर सर्गेईलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पदबाट हटाएका हुन् । उनी तीन महिनाअघि मात्र युक्रेनका लागि नियुक्त भएका थिए । अब चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोफले यो ‘विशेष सैन्य अभियान’को नेतृत्व गर्नेछन् ।
सर्गेई सुरोभिकिनको स्थानमा जनरल गेरासिमोफलाई नियुक्त गरिएको छ । शीर्ष कमान्डरका रूपमा सुरोभिकिन रुसको संयुक्त सेनाका पनि प्रमुख थिए । सुरोभिकिनले भर्खरै युक्रेनको ऊर्जा पूर्वाधारमा भएको आक्रमणको जिम्मेवारी लिएका थिए । रुसले पूर्वी युक्रेनमा अगाडि बढिरहेको दाबी गरेपछि यो परिवर्तन भएको हो ।
जनरल गेरासिमोफ सन् २०१२ देखि प्रधानसेनापतिको पदमा छन् । उनी सोभियत युगपछि सबैभन्दा लामो समय सेवा गर्ने चिफ अफ जनरल स्टाफ हुन् । जनरल सुरोभिकिनले अब उनको डेपुटीको रूपमा काम गर्नेछन् । उनी अघिल्लो युद्धहरूमा क्रुर नीतिहरूका लागि परिचित छन् । जसमा सिरियामा रुसको अभियान र एलेप्पो सहरमा भारी बमबारी पर्छन् ।
त्यसलगत्तै अक्टोबरमा उनलाई यो अभियानको नेतृत्व सुम्पिइयो । त्यसपछि रुसले युक्रेनको ऊर्जा पूर्वाधार ध्वस्त पार्न खोज्यो । खेरसनबाट रुसी सेना निस्किने बेलामा सुरोभिकिन पनि उपस्थित थिए । रुसको रक्षा मन्त्रालयले सुरोभिकिनलाई प्रतिस्थापन गर्नुको उद्देश्य ‘सेनाका विभिन्न शाखाहरू बीचको नजिकको सम्पर्क स्थापित गर्न र व्यवस्थापनको गुणस्तर र प्रभावकारितामा सुधार गर्नु’ भनेको छ ।
तर, यो पनि भनिन्छ कि सुरोभिकिनले धेरै शक्ति हासिल गरेका थिए । सैन्य मामिलाका विशेषज्ञ रोब लीले ट्वीटरमा लेखेका छन्, ‘तीनै सेनाका कमान्डरका रूपमा सुरोभिकिन धेरै शक्तिशाली बन्दै गएका थिए र राष्ट्रपति पुटिनसँग कुरा गर्दा रक्षामन्त्री र गेरासिमोलाई बेवास्ता गरिरहे ।’