२८ पौष , विराटनगर ।
प्रदेश १ मा नेकपा माओवादी केन्द्र पनि सरकारमा जान तयार भएको छ । आलोपालोमा आफूहरुले पनि मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै आएको माओवादी केन्द्र केन्द्रको निर्देशनपछि सरकारमा जान तयार भएको हो ।यसअघि प्रदेशसभाको ५ वर्षे कार्यकालको आधा समय मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने माग गर्दै माओवादी केन्द्र सरकारमा नजाने अडान लिएको थियो ।
प्रदेश १ मा माओवादी केन्द्रको समेत समर्थनमा एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रले मुख्यमन्त्रीमा आलोपालो हुने आश्वासन दिएपछि सरकारमा जान लागेको बताए । ‘केन्द्रबाट आलोपालो हुने जानकारी आएपछि हामी सरकारमा सहभागी हुँदैछौं’ उनले भने ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । उक्त भेटमा प्रदेश १ मा आलोपालोको सहमति भएको माओवादीका नेताहरु बताउँछन् ।
मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिदैछन् । शुक्रबार नै माओवादीलाई सरकारमा सहभागी गराउने तयारी छ । ‘आज सभामुखको शपथग्रहण भएका कारण मन्त्रीको शपथ नहोला’, माओवादी केन्द्रका एक नेताले भने, ‘शुक्रबार शपथ ग्रहणको सम्भावना छ नभए सोमबार शपथ हुनेछ ।’