५माघ, काठमाण्डौ ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् । दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतको आक्रोश छ ।
बुधबार राति ट्वीट गर्दै उनले लेखेका छन्, जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएको उल्लेख गरेका छन् । कुरा केवल जनमत पार्टीको होइन, जसपा, लोसपा, जनमत र नाउपा सबैलाई पाखा लगाउँदै ३ शासकवर्गले बूलडोज गरेको हो, उनको आक्रोश छ ।
सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले बताए । ’चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढेÞका हुन् । मधेशले यसको प्रतिकार गर्नेछ,’ उनको ट्वीटर ह्यान्डलमा उल्लेख छ ।
सुरुदेखि सरकार गठनमा सक्रिय रहेका उपेन्द्र यादव नेतृत्वको जसपा र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको महन्थ ठाकुर नेतृत्वको लोसपा सरकारभन्दा बाहिर छ । सीके राउत नेतृत्वको जनमत पार्टीले सुरुमै एकजना मन्त्री सरकारमा पठाइसकेको छ ।
सो पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति थियो । तर अहिले खानेपानी मन्त्रालय दिइएको छ । मन्त्रालयमा चित्त नबुझेर अब्दुल खान मंगलबार शपथका साथै मन्त्रालयमासमेत गएनन् । मन्त्रिमण्डल विस्तारसँगै सत्ता साझेदार दलले मधेसकेन्द्रीत दललाई महत्त्व नदिएको गुनासो हुन थालेको छ ।
उता, जेलमा रहेका रेशम चौधरीको रिहा नभएसम्म सरकारमा सहभागी नहुने अडान लिएको नागरिक उन्मुक्ति पार्टीले के गर्छ निश्चित छैन । यी दुई दलको १० सांसद छन् । यस्तै स्वतन्त्र २ सांसद पनि छन् । यसले सभामुखको निर्वाचनमा समेत असर गर्ने देखिन्छ ।