Nepal Times
Nepal Times
72
Shares

एट्लेटिको मड्रिडले भित्र्यायो मेम्फिस डिपे

एट्लेटिको मड्रिडले भित्र्यायो मेम्फिस डिपे

७ माघ, एजेन्सी ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडले नेदरल्याण्ड्सका स्ट्राइकर मेम्फिस डिपेलाई अनुबन्ध गरेको छ । बार्सिलोना छाडेर उनी एथ्लेटिको गएका हुन् । बार्सिलोनाको अनुमतिमा उनले बिहीबार नै एट्लेटिकोमा अभ्यास गरेको मार्काले जनाएको छ । २८ वर्षीय डिपेका लागि एट्लेटिको ३० लाख युरो तिर्न तयार भएको बार्सिलोनाले जनाएको छ ।

उनी २०२१ मा फ्रि ट्रान्सफरमा लियोनबाट बार्सिलोनामा अनुबन्ध भएका थिए । ४२ खेल खेलेका उनले १४ गोल गरेका छन् । तर चोटका कारण यो सिजन जम्मा चार खेल खेलेका छन् । क्लबसँग उनको सम्झौता पनि सकिन लागेको थियो । यता ट्रान्सफर बजारमा खेलाडी खरिद विक्री तथा अन्य विषयसहित आर्थिक प्रतिवेदनमा सहि हिसाब नदेखाएको भन्दै इटालीको फुटबल महासंघले युभेन्टसलाई कारवाही गरेको छ ।

युभेन्टसका पूर्व पदाधिकारीलाई फरक फरक प्रतिबन्ध लगाउँदा क्लबको भने लिगमा १५ अंक घटाइएको छ । महासंघका अनुसार क्लबले आर्थिक प्रतिवेदनमा हिसाब मिलाउन आफैं स्रोत जम्मा गरेको थियो । तर क्लबले भने यसप्रति असहमति जनाउँदै अपिल गर्ने जनाएको छ ।

युभेन्टसले पछिल्ला सिजनमा थुप्रै खेलाडी अनुबन्धित गर्दा प्रतिवेदनमा हिसाब देखाउने क्रममा सहि प्रक्रिया नपुर्याएको आरोप थियो । विशेषगरी कोभिडको समय र क्लबले क्रिस्टियानो रोनाल्डो, आर्थर, डे लिग्ट लगायतका अनुबन्धनमा पारदर्शी नभएको बुझिएको छ ।

गत अप्रिल २०२२ मा युभेन्टस सहित १० क्लबमाथि छानविन गर्दै कुनै समस्या नरहेको निर्णय आएको थियो । तर युभेन्टस माथि पुनः छानविन गर्दा क्लबको गल्ती देखिएको महासंघले जनाएको छ । क्लबले तत्कालीन अध्यक्ष आन्द्रे एग्नेलीसहित ११ जनालाई ८ महिनादेखि ३० महिनासम्म प्रतिबन्ध लगाएको छ । हाललाई यो प्रतिबन्ध इटालीको फुटबलमा मात्र लागु छ ।

तर महासंघले युइएफएए र फिफालाई पनि प्रतिबन्धको दायरा बढाउन अनुरोध गरेको छ । एग्नेलीको नेतृत्वमा युभेन्टसले लगातार ९ वर्ष लिग जितेको थियो । तर गत वर्ष भने क्लबले इटाली फुटबलमा सर्वाधिक घाटा बेहोर्नुपरेको थियो । यस कारवाहीसँगै युभेन्टस अंक तालिकामा तेस्रो स्थानबाट दशौं स्थानमा झरेको छ । १८ खेलमा ३७ अंक जोड्दै शीर्ष दुईमा पर्न प्रयासरत क्लब अब च्याम्पियन्स लिगमा छनोट नहुने सम्भावना छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.