८ माघ, काठमाण्डौ ।
नेपालमा सोमबारदेखि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण भोली रातिदेखि पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको अनुमान गरिएको छ । यो प्रणालीको प्रभाव मंगलबारसम्म नै पर्ने मौसमविद्ले बताएका छन् ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने पूर्वानुमान छ । यसपालिको हिउँदमा अहिलेसम्म पानी परेको छैन ।
यसले सुक्खापन बढाएको छ भने हिउँदो कृषि बालीमा पनि असर परेको छ । आजको मौसम भने थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ । मौसमविद् गंगा नगरकोटीका अनुसार आज सबैजसो क्षेत्रमा घाम लाग्ने सम्भावना छ ।
तराईका जिल्लामा विहान हुस्सु कुहिरो लागे पनि बिस्तारै हट्दै जाने सम्भावना रहेको उनले बताए । आज राति भने बागमती प्रदेश र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ । अन्य भू–भागको मौसम सफा रहनेछ ।