Nepal Times
Nepal Times
3
Shares

बेन्जेमा र क्रुसको गोलमा रियल म्याड्रिडको जित

बेन्जेमा र क्रुसको गोलमा रियल म्याड्रिडको जित

९ माघ, एजेन्सी ।
स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेका बार्सिलोना र रियल म्याड्रिड दुवै आइतबार विजयी रहे । बार्सिलोनाले गेटाफेलाई १–० ले हरायो र त्यसमा स्पेनिस युवा मिडफिल्डर पेड्रीले निर्णायक गोल गरे । शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाको जितमा पेड्रीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

क्याम्प नोउमा आइतबार राति भएको खेलमा पेड्रीले ३५औं मिनेटमा राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि पनि खेलमा दवदवा बनाएको बार्सिलोनाले थप गोल भने गर्न सकेन । यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको १७ खेलबाट ४४ अंक पुगेको छ ।

बार्सिलोना रियल म्याड्रिडभन्दा ३ अंकले अघि छ । पराजित गेटाफे १८ खेलबाट १७ अंक जोडेर १६औं स्थानमा छ । यस्तै कप्तान तथा फरवार्ड करिम बेन्जेमा र मिडफिल्डर टोनी क्रुसको गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ ।

रियलले घरेलु टोली एथलेटिको क्लब (बिल्वाओ) माथि २–० को सहज जित हात पारेको हो । रियलको जितमा बेन्जेमा र क्रुसले पहिलो र दोस्रो हाफमा गोल गरे । सान मेमेस वारिया विल्वाओमा आइतबार राति भएको खेलको २४औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

उनले मार्काे एसेन्सियोको पासमा गोल गर्न सफल भएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा टोनी क्रुसले गोल गर्दै रियलको २–० को जित पक्का गरे । उनले रोड्रिगोको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी ३ मा यथावत राखेको छ । रियलको १७ खेलबाट ४१ अंक पुगेको छ । पराजित विल्वाओ १८ खेलबाट २६ अंक जोडेर आठौं स्थानमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.