९ माघ, एजेन्सी ।
सिरियाको दक्षिणी प्रान्तमा अलेप्पोमा रहेको एक आवासीय भवन भत्कँदा त्यसमा रहेका कम्तीमा १६ जनाको ज्यान गएको छ । यहाँको एउटा सात तले भवन भत्कँदा ती मानिसको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । त्यस दुर्घटनामा पाँच जना बालबालिका पनि परेका छन् ।
प्रहरीका अनुसार उक्त भवनमा सात परिवार बसेका र ती परिवारका गरेर १६ जनाको ज्यान गएको हो । सो स्थानका बासिन्दाले उक्त भवनमा ३५ जनाको बसोबास रहेको बताएका छन् । भवनका भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ । प्रहरीले मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताएको छ ।
यहाँको सरकारी समाचार समिति सानाले सो भवनको भग्नावशेषमा पुरिएको आशङ्कामा उद्धारको काम जारी रहेको जनाएको छ । एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित सिरियाली नागरिक उक्त भवनमा बस्ने गरेका सिरियाली गृह मन्त्रालयका अधिकारीले जनाएका छन् ।
सिरियामा जारी द्वन्द्वमा परी करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ । अधिकांश विस्थापित सिरियाली यस्तै कमजोर प्रकृतिका भवनमा बसेका छन् । गएको सेप्टेम्बरमा पनि अलेप्पोनजिकको फर्दवासमा एक यस्तै कमजोर भवन भत्कँदा तीन जना बालबालिकासहित दश जनाको मृत्यु भएको जानकारी गृह मन्त्रालयका अधिकारीले गराएका थिए ।