२२ कार्तिक , काठमाण्डौ । अमेरिकामा चर्चित नेपाली नर्स ममता काफ्ले बेपत्ता तथा हत्या प्रकरणमा पक्राउ परेका उनका पति नरेश भट्टले अदालतमा आफ्नो बयान फेर्दै सनसनीपूर्ण खुलासा गरेपछि धेरै स्तब्ध बनेका छन् । धेरैले एक महिलाको सबैभन्दा सुरक्षित स्थल घर र सबैभन्दा सुरक्षित महसुस गर्ने आफ्नै पति पनि यति आततायी हुन् सक्छन् र भन्ने विश्वास गर्न सकिरहेका छैनन् । तर स्वयम नरेशले अदालतमा आफैले आफ्नी धर्मपत्नीको शरीर टुक्राटुक्रा बनाएको स्वीकारेपछि सामाजिक संजालमा उनलाई कथित रुपमा नरपिचासको संज्ञा दिन थलिएको छ । सँगै उनलाई आजिवन कारावास मात्रै नभई मृत्युदण्ड दिनुपर्ने आवाज समेत उठाइएको छ। नरेशको बयानपछि उनलाई स्वीकारेको कसुरबाट उनलाई कस्तो सजाय हुन् सक्छ भन्ने चासो समेत ब्यापक रुपमा उठेको छ।
यसअघि ममता स्वेच्छाले घर छाडेर न्युयोर्क वा टेक्सस गएको दाबी गर्दै आएका भट्टले अदालतको इजलासमा भने ममता आफ्नै बेडरुममा मृत फेला परेको र त्यसपछि आफूले शव व्यवस्थापन गरेको बयान दिएका छन् । नोभेम्बर ६ मा प्रिन्स विलियम काउन्टी सर्किट कोर्टमा भएको सुनुवाइका क्रममा नरेश भट्टले श्रीमती ममताको शव टुक्राटुक्रा पारेको र शवका अवशेष फाल्ने तथा प्रमाण लुकाउने कार्य गरेको स्वीकार गरेका हुन्। तर, उनले ममताको हत्या गरेको भने स्वीकार गरेका छैनन्। उनले ममताको हत्या नभई आत्महत्या भएको दाबी गर्दै आएका छन्। नरेश भट्टविरुद्धको पहिलो श्रेणीको हत्या अभियोगमा दोषी ठहर भए आजीवन कारावाससम्मको सजाय हुन सक्छ। तर, दोस्रो श्रेणीको हत्या अभियोगमा दोषी ठहर भए भर्जिनिया कानुनअनुसार पाँचदेखि ४० वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था छ।यस प्रकरणमा अर्को महत्वपूर्ण पक्ष के छ भने, नरेशले शवका अवशेष टुक्राटुक्रा पारेको स्वीकार गरे पनि हत्या गरेको स्वीकार गरेका छैनन्। शवका अवशेष लुकाउने र प्रमाण नष्ट गर्ने कार्यसम्बन्धी अभियोग पनि उनीमाथि छन्। भर्जिनिया कानुनअनुसार शवको अपमान तथा अवशेष लुकाउने कार्य गम्भीर प्रकृतिको अपराध मानिन्छ। यस अभियोगमा दोषी ठहर भए एकदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्छ। त्यस्तै, अदालतले अभियोगअनुसार जरिवाना पनि तोक्न सक्छ। शवका अवशेष लुकाउने तथा प्रमाण नष्ट गर्ने अभियोगमा पनि छुट्टै सजाय हुन सक्नेछ। यसरी नरेश भट्टको अदालती रणनीतिमा एउटा रोचक पक्ष देखिएको छ। उनले हत्या जस्तो गम्भीर अभियोग स्वीकार गरेका छैनन्, तर शव टुक्राटुक्रा पारेको र त्यसका अवशेष लुकाएको अभियोग भने स्वीकार गरेका छन्। अब अदालतले उनीमाथिका बाँकी अभियोग, उपलब्ध प्रमाण र कानुनी व्यवस्थाका आधारमा अन्तिम फैसला गर्नेछ।मुद्दाको सुनुवाइको क्रममा अदालतमा प्रस्तुत गरिएको विवरण अनुसार नरेश भट्टमाथि पहिलो डिग्रीको हत्या, शव क्षतविक्षत र शव लुकाएको गम्भीर अभियोग लगाइएको छ । यद्यपि, ममताको शव भने अहिलेसम्म फेला परेको छैन । अदालतको इजलासमा आफ्नो सफाइ पेस गर्दै भट्टले जुलाई २९, २०२४ को राति आफू दम्पतीको बच्चासँग अर्को कोठामा सुतेको बताए । जुलाई ३० को बिहान करिब ४ बजे बच्चाको हेरचाहका लागि उठ्दा मुख्य बेडरुमतर्फ जाँदा ममता भुइँमा उत्तानो परेको अवस्थामा भेटिएको उनले बताए । उनका अनुसार ममताको शरीर र वरिपरि वान्ता (भमिट) थियो जसमा केही चक्की (औषधि) हरू तथा नजिकै औषधिको बोतल र कीटनाशक औषधिको खुला केसहरू समेत थिए । वान्तामा कीटनाशक रासायनिक गन्ध वा अंश जस्तो देखिएको उनको दाबी छ
। ममतालाई जीवित पार्न आफूले ४५ मिनेटदेखि १ घण्टासम्म प्रयास गरे पनि उनले कुनै सास नफेरेको र अचेत रहेको उनले बताए । अदालतमा न्यायाधीश र वकिलहरूले प्रहरी वा अस्पताललाई किन खबर गरिनौ भनी सोधेको प्रश्नमा भट्टले आफू अत्यधिक डराएको प्रतिक्रिया दिए । ’मलाई साँच्चै डर लाग्यो । किन कल गरिनँ, मलाई थाहा छैन । मलाई लाग्यो कि ममाथि आत्महत्या दुरुत्साहनको आरोप लाग्न सक्छ,’ उनले भने । आफूले जीवनमा ३,५०० घण्टाभन्दा बढी ध्यान गरेको भए पनि त्यो समय किन ९११ मा फोन गर्न सकिनँ भन्ने जवाफ आफूसँग नभएको उनले बताए ।बच्चालाई बेबीसिटरकहाँ पु¥याएपछि होम डिपोट गएर केही सामग्रीहरू किनेर ल्याएको उनले स्वीकार गरे । त्यसपछि अर्को डेढ दिनभित्र घरभित्रै आराको प्रयोग गरी ममताको शवलाई टुक्राटुक्रा पारेर ब्यागमा हाली घरकै फोहोर फ्याँक्ने कन्टेनरमा हालेको उनले सनसनीपूर्ण खुलासा गरे । सरकारी वकिल म्याथ्यु स्विटले यसअघि प्रहरी र मिडियालाई झूटो बोलेको विषयमा प्रश्न गर्दा भट्टले आफूले यसअघि दिएका बयानहरू झूटो भएको र आफू ’झुटो बोल्ने व्यक्ति’ भएको कुरा अदालतमा स्वीकार गरे ।
नरेश भट्टले अदालतमा आरामार्फत शवका टुक्रा पारेको विवरण दिँदै गर्दा इजलासमा उपस्थित मानिसहरूले चर्को आवाज निकालेर आक्रोश व्यक्त गरेका थिए भने ममताकी आमा रुँदै अदालत कक्षबाट बाहिरिएकी थिइन् । कतिपय ज्युरी सदस्यहरूले उनको बयानप्रति अविश्वास प्रकट गर्दै आँखा घुमाएका थिए । यति गम्भीर अपराधको बयान दिँदा पनि भट्टको अनुहारमा कुनै पनि प्रकारको मानवीय संवेदनामा देखिने भाव वा पश्चाताप नदेखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । अभियोजन पक्षले पेस गरेका प्रमाण र साक्षीहरूको बयानले भट्टको दाबीलाई कडा चुनौती दिएका छन् । फरेन्सिक विशेषज्ञहरूले मुख्य बेडरुमको कार्पेटमा भेटिएको रगत ममताकै भएको ‘सम्भावना अत्यधिक’ रहेको र बेडको स्थान सारेर रगतका दागहरू सफा गरी मेटाउने प्रयास गरिएको प्रमाण प्रस्तुत गरेका छन् ।

प्रहरीले बरामद गरेको विद्युतीय आरामा भेटिएको रगत र डिएनए परीक्षण गर्दा त्यो ममताकै रहेको पुष्टि भइसकेको छ । सो आरा भट्टले घटनाको केही महिनाअघि किनेका थिए । ममताका भाइ महेश काफ्ले अदालतमा उपस्थित भई रुँदै बयान दिए । घटनाको केही महिनाअघि ममताले आँखामा नीलडाम भएको तस्बिर पठाएर नरेशले कुटपिट गरेको जानकारी दिएको र पछि प्रमाणको रूपमा सुरक्षित राख्न आग्रह गरेको उनले खुलाए । ममता बेपत्ता हुनुभन्दा ७–८ महिना अघिदेखि नै नरेशले सम्बन्धविच्छेदको कुरा गर्ने गरेको र घटनापछि ममताका सम्पूर्ण गरगहना र आफ्नै विवाहको औँठी एक साथीलाई जिम्मा लगाएको खुलेको छ । घटनासम्बन्धी कानुनी प्रक्रिया र ज्युरी समक्ष बहस अझै जारी रहेको छ । ममताका न्यायका लागि आवाज उठाउँदै आएका उनका साथीहरू र परिवारले नरेशले दिएको यो बयान पूर्ण रूपमा पूर्वायोजित र बनावटी रहेको दाबी गरेका छन् ।
अब अमेरिकामा कस्तो अपराधमा मृत्युदण्ड हुन् सक्छ ? यसका विषयमा चर्चा गरौं । अमेरिकामा मृत्युदण्ड सबै प्रकारका हत्याका घटनामा दिइँदैन। यो अमेरिकाको सबैभन्दा कठोर आपराधिक सजाय हो, जुन निश्चित गम्भीर अपराधमा मात्र अदालतले सुनाउन सक्छ। साथै, अमेरिकाका सबै राज्यमा मृत्युदण्डको व्यवस्था छैन। राज्यअनुसार यससम्बन्धी कानुन फरक छन्। सामान्यतया अमेरिकामा मृत्युदण्डको सजाय हुन सक्ने प्रमुख अपराधहरूमा विशेष परिस्थितिमा गरिएको हत्या, सामूहिक हत्या, आतंकवादी आक्रमणबाट भएको हत्या, प्रहरी वा सरकारी अधिकारीको हत्या तथा अपहरणका क्रममा हत्या पर्छन्। त्यस्तै, संघीय कानुनअन्तर्गत जासुसी र देशद्रोह जस्ता केही अपराधमा पनि मृत्युदण्डको कानुनी व्यवस्था हुन सक्छ। तर, हत्या हुँदैमा मृत्युदण्ड हुन्छ भन्ने होइन। हत्या योजनाबद्ध थियो कि थिएन, कति जना मारिए, अपराधको प्रकृति कस्तो थियो र अन्य गम्भीर परिस्थिति थिए कि थिएनन् भन्ने आधारमा अदालतले निर्णय गर्छ।
अमेरिकामा मृत्युदण्ड हुन सक्ने प्रमुख अपराधहरूमा
– पूर्वयोजनासहित गरिएको गम्भीर हत्या, विशेष गरी एकभन्दा बढी व्यक्तिको हत्या।
– आतंकवादी गतिविधिका क्रममा मानिसको ज्यान लिने अपराध।
– अपहरणका क्रममा हत्या।
– प्रहरी, न्यायाधीश, राष्ट्रपति, सांसद वा अन्य सरकारी अधिकारीको हत्या।
– जासुसी तथा देशद्रोहजस्ता संघीय अपराध।
– केही गम्भीर यौन हिंसा वा अन्य संघीय अपराध, जसका कारण पीडितको मृत्यु भएको हुन्छ।
अमेरिकाको संघीय कानुनअनुसार मृत्युदण्डको व्यवस्था भएका अपराधमा दोषी ठहर हुनासाथ स्वतः मृत्युदण्ड हुँदैन। अभियोजन पक्षले मृत्युदण्ड माग्नुपर्छ र त्यसका लागि कानुनी आधार तथा अपराधको गम्भीरता प्रमाणित गर्नुपर्छ। मृत्युदण्ड दिने वा नदिने निर्णयमा जूरीको महत्वपूर्ण भूमिका हुन्छ। सन् २०२६ सम्म अमेरिकाका ५० राज्यमध्ये २७ राज्यमा मृत्युदण्डको कानुनी व्यवस्था कायम छ भने २३ राज्यले यसलाई पूर्ण रूपमा हटाइसकेका छन्। संघीय सरकारको कानुनमा भने मृत्युदण्डको व्यवस्था अझै कायम छ। विशेषगरी ममता काफ्ले हत्या प्रकरण भएको भर्जिनिया राज्यले सन् २०२१ मार्च २४ मै मृत्युदण्डको सजाय कानुनी रूपमा हटाइसकेको छ। त्यसैले नरेश भट्ट हत्या अभियोगमा दोषी ठहर भए पनि भर्जिनिया राज्यको कानुनअनुसार उनलाई मृत्युदण्ड दिन सकिँदैन। अर्थात् अमेरिकामा मृत्युदण्डको सजाय अपराधको प्रकृति मात्र होइन, कुन राज्य वा संघीय क्षेत्रअन्तर्गत मुद्दा चलिरहेको छ भन्ने कुराले पनि निर्धारण गर्छ।



