१८ करोड दिएर कांग्रेस किनिदियो, देउवा भर्सेस गगन

२२ कार्तिक,काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको विषयमा १८ करोडको चलखेल उठेपछि नेपाली कांग्रेसका सभापतिसहित सिंगो पदाधिकारीको बैठकबाट त्यसको खण्डन गरिरहेका बेला पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको चलखेल भएको भन्ने आरोपप्रति गम्भिर प्रश्न उठाएका छन् । उनले पैसाको लेनदेन गरेर पार्टीको आधिकारिकता किनिएको भन्दै आफूहरूले पैसामा पार्टी नबेच्ने बताएका छन् । शनिबार काठमाण्डौंको राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको काठमाण्डौं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको बयान र अडियोमा १८ करोड रुपैयाँको प्रसंग आएको उल्लेख गरे । नेता कार्यकर्तालाई इनमको नाम सोध्दै देउवाले भने, इनम सापकोटाले १८ करोड भनेको छ। बा, सानो पैसा हो त्यो ? त्यो पैसा दिएर पार्टी किनिदियो। अब पैसामा पार्टी बेच्ने हामीले ?’ प्रश्न गरे । उनले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगका तत्कालीन पदाधिकारीको भूमिकामाथि पनि प्रश्न उठाए । तत्कालीन कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आफ्नो ज्यानको सुरक्षाका कारण निर्णय दिएको भन्ने कुरा सञ्चारमाध्यमबाट थाहा पाएको उनले बताए । ‘उसबेला निर्वाचन आयोगमा पनि मुद्दा हालेका थियौँ। बाहिर समाचारमा आएको थियो, मेरो ज्यानको खतरा भएको कारणले मैले दिएको भनेर प्रमुख आयुक्तले बोलेका पनि छन्,’ देउवाले भने । उनले तत्कालीन आयुक्त जानकी तुलाधरको भूमिकाबारे पनि टिप्पणी गरे । तुलाधर नडराएको तर अर्को पदाधिकारी डराएको उल्लेख गर्दै देउवाले निर्वाचन आयोगको निर्णय प्रक्रियामा आर्थिक लेनदेन भएको हुन सक्ने आशय व्यक्त गरे । देउवाले आफू अझै पनि नेपाली कांग्रेसको सभापति रहेको दाबी गर्दै पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको बताए । आफू विदेशमा रहेका बेला विशेष महाधिवेशन आयोजना गरिएको र आफूलाई सभापति पदबाट हटाइएको औपचारिक निर्णयसमेत नभएको उनको भनाइ थियो ।
‘म विदेश भएको समयमा यता विशेष महाधिवेशन भयो । पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन । त्यसैकारणले हामीले अदालतमा मुद्दा हालेका हौँ,’ उनले भने । कार्यकर्तालाई आश्वस्त पार्दै देउवाले भने, ‘मलाई विश्वास छ, रुख चिह्न हामीले पाउँछौं।’ यसका लागि उनले राजा ज्ञानेन्द्रले थुनेको प्रसंग उप्काए। राजाले थुनामा राखेपछि आफू छुट्नेमा कसैलाई पनि विश्वास नभएको उनको भनाइ थियो। तर, सर्वोच्च अदालतले निश्पक्ष भएर फैसला गर्दा आफूले न्याय पाएको उनले उल्लेख गरे। ‘ज्ञानेन्द्रको दबदबा हुँदाखेरी अदालतले हिक्मत गरेको हो। अदालतको निश्पक्षता देख्या हो,’ देउवाले भने, ‘त्यसका कारणले मलाई विश्वास छ, अहिले डराउनुपर्ने कुरा छैन। अदालतले निश्पक्ष न्याय दिन्छ। हाम्रो पक्षमा आउँछ भन्ने विश्वास छ।’ उनले आफू अब कांग्रेस सभापति नहुने बताए। आफूले यसअघि नै पार्टी सभापनि छोड्ने घोषणा गरिसकेको स्मरण गराए। अब आफूले सम्मानजनक बिदाई खोजेको बताए। ‘म पार्टी सभापति हुने पनि होइन। पहिले भनेको हो,’ उनले भने, ‘म अनरेबल रिटायरमेन्ट चाहन्छु। मलाई धेरै रहर पनि छैन।’ अहिलेसम्म कांग्रेस कार्यकर्ता र नेपाली जनताले आफूलाई धेरै दिएको उनले उल्लेख गरेर यसका लागि आफू अनुग्रहित रहेको देउवाले सुनाए। ‘म यति अनुग्रहित छु। मैले धेरै पाइसकेको छु, पाउनुपर्ने केही पनि छैन,’ उनले भने, ‘मैले दिनुपर्ने कुरा हो। यो पार्टीलाई दिनुपर्छ, यो देशलाई दिनुपर्छ। मेरो जिन्दगीमा लिनुपर्ने केही छैन।’

उता नेपाली कांग्रेसका सभापति गगन थापाले भने पदाधिकारी बैठक बोलाएर आफूमाथि लागेको आरोपबारे स्पष्ट पारेका छन्। बुधबार शीर्षनेतासँग छलफल गरेका थापाले बिहीबार पदाधिकारी र सांसदहरूसँग आफूमाथि लागेको आरोपको प्रस्टीकरण दिँदै प्रतिवादका लागि तयार रहन भने। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले कांग्रेस र आफूविरुद्ध षडयन्त्र गरिरहेको फेहरिस्त थापाले छलफलमा सुनाए। सानेपामा बिहीबार दिउँसो ३ बजेदेखि डेढ घण्टा चलेको बैठकमा सभापति थापाले आफूले कुनै गलत र अनैतिक काम नगरेको भन्दै जिम्मा लिएर बोल्दा समस्या नहुने बताए। ‘तपाईं मेरोबारेमा जिम्मा लिएर बोल्न सक्नुहुन्छ। मेरोबारेमा जिम्मा लिएर भन्न सक्नुहुन्छ, गगन थापाबाट कुनै गलत, अनैतिक काम भएको छैन। हुन सक्दैन,’ थापाले छलफलम भने, ‘कति साथीहरू भन्नुहुन्छ, यो होला, त्यो होला। कुनै कुराको चिन्ता नलिनुहोला। जे पर्छ, त्यो बेहोर्ने हो।’ यससँगै थापाले आफू सबै खालको अनुसन्धानका लागि तयार रहेको बताए। ‘इनम सापकोटासँग मेरो कुनै पनि किसिमको भेटघाट र चिनजान छैन। तपाईंहरू ढुक्क हुनुहोला,’ थापाले भने। इनमसँग बोलेको भनेर आएको अडिओ बोलेको नभएर बोल्न लगाएको उनको भनाइ थियो। ‘फिक्सर इनम सापकोटा, जो अहिले प्रहरी अनुसन्धानका लागि हिरासतमा छन्, उनको भनेर एउटा अडिओ बाहिर आएको छ। त्यो अडिओमा मेरो बारेमा केही कुरा सुनिएको छ। तर त्यो अडिओ बोलेको होइन, बोलाइएको हो,’ थापाले भने। इनम प्रकरणमा निष्पक्ष रुपमा अनुसन्धान गर्न सरकारलाई सहयोग गर्न तयार रहेको भए पनि जबरजस्ती धरपकडको प्रयास गरे प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो।

लगत्तै सभापति थापाले सामाजिक संजालबाट प्रहरी हिरासतमा रहेका ‘फिक्सर’ इनम सापकोटासँग जोडिएको विवादास्पद अडियोमा आफ्नो नाम जोडिएको विषयलाई ठाडै अस्वीकार गरे। उनले आफू कुनै गलत, अनैतिक वा आर्थिक लेनदेनमा संलग्न नरहेको दाबी गर्दै अडियो प्रकरणको निष्पक्ष अनुसन्धान गर्न चुनौती दिएका छन्। थापाले अडियोमा आफ्नो नाम कसरी र किन जोडियो भन्ने विषयमा आफू अनभिज्ञ रहेको बताए। अडियोमा भएको कुराकानीको वास्तविकता अनुसन्धानबाटै खुल्ने भन्दै उनले त्यसलाई आधार बनाएर आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गरे। उनले कांग्रेसको आधिकारिकता र पार्टीभित्रको आन्तरिक रूपान्तरणका लागि भइरहेको राजनीतिक तथा कानुनी संघर्षलाई आर्थिक लेनदेनसँग जोड्नु गलत भएको बताए। उनका अनुसार पार्टीको आधिकारिकताको लडाइँ कुनै व्यक्तिको आर्थिक स्वार्थ पूरा गर्न नभई राजनीतिक र वैधानिक विषयमा केन्द्रित रहेको हो। ‘विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ ? करोडको कुरा गर्छन् ! पार्टीको आधिकारिकताको राजनीतिक–कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन,’ थापाले भनेका छन् ।त्यस्तै, महामन्त्री प्रदीप पौडेलले पनि पछिल्लो समय सार्वजनिक भएका विभिन्न प्रकरणलाई संसदीय समितिमा उठाउने बताए। त्यसका लागि संसदीय दलका नेता र सम्बन्धित विषयगत समितिमा रहेका सांसदहरूसँग पदाधिकारीले छलफल गरेको उनको भनाइ छ। ‘पछिल्लो समय आएका यी विषयहरू विषयगत संसदीय समितिका मुद्दा बन्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा हामीले संसदीय दलका नेता र सम्बन्धित विषयगत समितिका सांसद साथीहरूसँग बैठक ग¥यौं,’ पौडेलले भने, ‘उहाँहरूलाई यी विषय समितिमा लैजाने गरी छलफल गर्न भनिएको छ।’ कांग्रेसको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादमा देउवा पक्ष र गगन थापा नेतृत्वको पक्षबीच मतभेद जारी छ । देउवाले १८ करोड रुपैयाँको प्रसंग उठाउँदै निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि समेत प्रश्न गरेपछि विवादले थप चर्चा पाएको छ ।
नेपाली कांग्रेसका सभापति थापासहितका नेताहरूको नाम लिएको इनम सापकोटाको वयानको अडियो सार्वजनिक भएको छ । प्रहरीले वयानका क्रममा रेकर्ड गरेको भनिएको अडियो बाहिर सार्वजनिक भएको हो ।इनमले उक्त वयानमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, उमेश श्रेष्ठ, बालकृष्ण खाँड, दीपक खड्का लगायतको पनि नाम लिएका छन । उनले उक्त अडियोमा चोलेन्द्रशम्शेर जबराले कांग्रेसको मुद्दा मिलाइदिन भूमिका खोलेको भनेर आफूलाइ भनेको भन्ने दाबी गरेका छन । बयानमा उनले आइप्लेक्स मलको विवाद मिलाउन करोडौँ लेनदेन भएको पनि उल्लेख गरेका छन् । चोलेन्द्र र उनका भाइ प्रभु शमशेरमार्फत् रकम आएको उनको दाबी छ । उनले ६२ नम्बर ब्रोकरका मालिकले सेयर किन्न भनेपछि सेयर किन्न लागेको बनायन दिएका छन् । ”उमेश सरले एउटा ग्रुप बनाउनु भएको छ । त्यसका अतितलाल श्रेष्ठ (ब्रोकर नम्बर ६२) छ । उहाँ सेयरको खेलाडी हो । उहाँले सेयर किनौ भनेको छ । सबैले उहाँ मार्फत सेयर किनेको छ” उनले भने ” ४,५ दिन भयो सेयर किनेको छ । मैले पनि किनेको हो । यो पैसा मेरै हो । सिटिजन्समा खाता खोलेको छ । ४ करोड लोन लिने, उहाँहरुको १ करोड तिरेर ३ करोडको बिजनेश गर्ने योजना रहेको छ ।” सापकोटाले बयानमा सर्वोच्चकी न्यायाधीश सारंगा सुवेदीको नाम लिएको समाचार छ। कांग्रेसको आधिकारिकता सम्बन्धी आदेशका लागि ३ करोड बुझाइएको भन्ने दाबीमा उनको नाम जोडिएको छ। उनको प्रतिक्रिया आएको छैन। सर्वोच्चका न्यायाधीश। सापकोटासँगको भनिएको ह्वाट्सएप कुराकानी सार्वजनिक भएपछि सबैभन्दा बढी विवादमा छन्। उनले सापकोटासँग होटल हिमालयमा भेट भएको स्वीकार गरेका छन्, तर सापकोटाले प्रधानमन्त्रीको नाम लिएर बारम्बार सन्देश पठाएपछि भेटेको उनको भनाइ छ।
सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो बाहिरिएको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। उच्च तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूसँग सम्पर्क रहेको भनिएका सापकोटामाथि भइरहेको संवेदनशील अनुसन्धानकै क्रममा प्रहरीसँगको सोधपुछमा उनले बोलेको अडियो सार्वजनिक भएपछि अनुसन्धानको गोपनीयता र प्रहरीको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ।यद्यपि सापकोटाको भनिएको बयान, चुहिएका भनिएका च्याट÷कागजात र सञ्चारमाध्यमका समाचारमा आधारित दाबी हुन्। कुनै पनि आरोप अनुसन्धानबाट पुष्टि भएको छैन, प्रहरीले अडियो र विवरणको आधिकारिकता नै पुष्टि गर्न बाँकी रहेको बताएको छ, र केही व्यक्तिले आरोप अस्वीकार गरिसकेका छन्।



