२२ कार्तिक , काठमाण्डौ । मध्यपूर्वमा एक पटक फेरि महायुद्धको तैयारी थालिएको छ । एकातर्फ इरानले आफ्नो परमाणु ठेगानाहरु नजिक रहेका नागरिकहरुलाई एंटी–रेडिएशन आयोडिन चक्कीहरु वितरण गरिरहेको छ, अर्कातर्फ अमेरिकाले सिंगो मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरुका लागि हाई अलर्ट जारी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट आइरहेको आक्रामक बयानहरु र पेंटागनको सैन्य तैयारीहरुले खाडी क्षेत्रमा कुनै पनि बेला निकै ठुलो धमाका हुनसक्ने प्रष्ट पारेको छ । द टाइम्स अफ लन्डन र अल जजीराको रिपोट्र्स अनुसार, इरानको स्वास्थ्य मंत्रालयका एक अधिकारीले इरानी न्युक्लियर प्लांट्सको २ देखि ३ किलोमीटरको क्षेत्रमा रहने मानिसहरुलाई प्रिभेंटिभ मेडिसिन अर्थात आयोडिनका चक्कीहरु वितरण भइरहेको पुष्टि गरेका छन् । जब इरानी अधिकारीलाई के अमेरिकाको हमलाको डरले यो कदम उठाइएको हो भनेर प्रश्न सोधियो, तब ती अधिकारीले भने, डोनाल्ड ट्रंपमाथि अब केही विश्वास गर्न सकिदैन, र उनी कुनै पनि हदसम्म जान सक्छन् ।इरानको यो डरका पछाडि सबैभन्दा ठुलो कारण भनेकै अमेरिकाको संभावित सैन्य कारबाही हो । रिपोट्र्सका अनुसार, वाशिंगटनले इरानको सबैभन्दा सुरक्षित र बलियो मानिने ‘पिक्याक्स माउंटेन’ न्यूक्लियर साइटलाई निशाना बनाउने कुरामा गंभीरतापूर्वक विचार गरिरहेको छ । फक्स न्यूजको रिपोर्ट अनुसार, डोनाल्ड ट्रंपले आफ्नो नेशनल सेक्योरिटी टीमका साथ व्हाइट हाउसमा लगातार दुई दिन म्याराथन बैठक गरेका छन् । सो बैठकको मुख्य एजेंडा इरानविरुद्धको सैन्य अभियान पुनः सुरु गर्ने कि के गर्ने भन्नेबारेमा थियो । त्यसपछि ओभल अफिसमा पत्रकारहरुसंग कुरा गर्दै ट्रंपले यसबारेमा आफूले छिटै नै कुनै ठुलो निर्णय लिने बताएका थिए । ट्रंपले कडा शब्दमा भने, ‘म देशको अर्थात इरानको बाँकी हिस्सालाई ध्वस्त बनाउन चाहान्न, तर सायद मैले यस्तो गर्नुपर्छ । तपाइँहरुले छिटै नै सबै कुरा थाहा पाउनु हुनेछ’ ।
यता फक्स न्यूजले आफ्नो रिपोर्टमा एउटा निकै रोचक र डरलाग्दो गणितको पनि अर्थ लगाएको छ । ९ नोभेम्बरमा मिडिल ईस्टको आकाशमा न्यू मून हुनेछ, जसका कारणले राति चन्द्रमाको प्रकाश हुनेछैन । यस्तो खालको अध्यारोको फाइदा उठाएर अमेरिकी सेनाले ठुलो हवाई कारबाही गर्न सक्ने रक्षा विशेषज्ञको पनि अनुमान छ । यता इरानमा आयोडिन चक्कीहरु वितरणले पनि तेहरान अब कुनै पनि न्यूक्लियर इमरजेंसी वा आफ्नो परमाणु संयंत्रहरुमा अमेरिकी हमलालाई लिएर मानसिक रूपले तयार भएको संकेत गरेको छ । अब आयोडिन टेबलेट्सले कसरी काम गर्छ, त्यसबारे चर्चौ गरौं । कुनै पनि परमाणु हमला वा लीकेजको स्थितिमा हावामा खतरनाक रेडियोएक्टिभ आयोडिन फैलिन्छ । त्यस्तो बेला यी चक्कीहरुले मानिसको थायरायड ल्याण्डलाई रेडियोएक्टिभ आयोडिन सोस्नबाट रोक्छ । जसले क्यान्सर र रेडिएशनले हुनसक्ने गंभीर रोगबाट बचाउन सक्छ ।

आमरुपमा यस खालको औषधी युद्धको निकै भयावह स्थितिमा बाडिन्छ । २ देखि ३ किलोमीटरको क्षेत्रमा औषधीहरु बाडेर इरानले आफ्ना नागरिकहरुलाई सम्भावित रेडिएशन खतराबाट बचाउने तयारी गरेको हो । इरानका तैयारीहरुका बीच अमेरिकाले पनि आफ्नो तयारी गरेको छ । यूनाइटेड स्टेट्स मिशनले सोशल मीडिया प्लेटफर्म एक्मा एक आधिकारिक सेक्योरिटी एडभाइजरी जारी गरेको छ, जसमा सिंगो मिडिल ईस्टमा रहेका अमेरिकी नागरिकहरुलाई अत्यधिक सतर्क रहन भनिएको छ । अमेरिकालाई डर छ कि इरान समर्थित हूथी विद्रोही र इरानी एजेंसिहरुले यो क्षेत्रमा रहेका अमेरिकी सरकारी अधिकारिहरु र नागरिकहरुलाई निशाना बनाउन सक्छन् । अमेरिकी विदेश मंत्रालयले आफ्ना नागरिकहरुलाई चेतावनी दिदै बढ्दो तनावका कारण फ्लाइट्स क्यान्सिल हुन सक्ने, एयरस्पेस बंद हुन सक्ने र सिंगो क्षेत्रमा आवतजावत ठप्प हुनसक्ने चेतावनी दिएको छ ।
अमेरिकी सेंट्रल कमांडले इरानविरुद्ध ठुलो स्तरमा सैन्य अभियान शुरू गर्ने तयारी लगभग पूरा गरेको छ, अब खाली वाशिंगटनबाट आधिकारिक हरियो झण्डाको प्रतिक्षा छ । यसबीच खाडीमा गहिरिदो यो संकटले छिमेकी देशहरुको निन्द्रा उडाइदिएको छ । इराकलाई डर छ कि अमेरिका र इरानको यो युद्धमा उसको जमीनलाई मोहरा बन्ने उसलाई डर छ । इराकी प्रधानमंत्री अली फलीह अल–जैदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपसंग फोनमा लामो वार्ता गरेका छन् । सो क्रममा उनले इराकको संप्रभुताको सम्मान गरिनुपर्ने स्पष्ट पारेका थिए । इराकी प्रधानमंत्री कार्यालयले एक्समा एक आधिकारिक बयान जारी गर्दै भनेको छ, हाम्रो जमिनको प्रयोग कुनै पनि छिमेकी देशविरुद्धको हमलाको लन्चप्याडका रूपमा हुन दिने छैन । तर यता इरानले एंटी–रेडिएशन चक्कीहरु वितरण गर्नु, अमेरिकाले आफ्ना नागरिकहरुलाई सतर्क बनाउनु र पेंटागनको युद्ध स्तरमा भइरहेका तयारीहरुले गल्फ क्षेत्रमा केही निकै ठुलो र भयानक हुन लागेको संकेत गरेको छ ।
अमेरिका एकातिर इरानको न्यूक्लियर प्रोग्रामलाई सदाका लागि अन्त्य गर्ने अडानमा छ भने इरान पनि कुनै पनि हमलाको कडा जवाफ दिने मुद्रामा आइसकेको छ । यदी ९ नोभेम्बर वा आउने दिनमा अमेरिकाले ‘पिक्याक्स माउंटेन’मा स्ट्राइक गर्यो भने, यो खाली दुई देशबीचको युद्धमात्रै हुनेछैन, बरु सिंगो मिडिल ईस्ट यसको आगोमा झोसिने छ । यसबीच अहिले सिंगो विश्वको नजर वाशिंगटन र तेहरानको आगामी कदममा केन्द्रित भएको छ । यसैबीच इरानले अब २,००० किलोमीटर भन्दा परसम्म मार हान्न सक्ने मिसाइलहरु बनाएको वा बनाउन सक्ने ठानिएको छ । इरानको रिभोल्यूशनरी गार्डले भनेको छ कि उसले आफप्नो ब्यालिस्टिक मिसाइलहरुको रेंजमा आफैले लगाएको २,००० किलोमीटरको सीमाको हदलाई निलम्बन गरेको छ । यसबाट बुझ्न सकिन्छ कि इरानले यस्ता मिसाइलहरु विकसित गर्न खोजिरहेको छ, जुन धेरै टाढाका लक्ष्यहरुमा पुग्न सकुन् । अर्थात २,००० किमी भन्दा परसम्म मार हान्न सकियोस् । आईआरजीसीले यो कदम यस्तो समयमा उठाएको हो, जब इरान–अमेरिका बीच तनाव बढीरहेको छ र एक पटक फेरि युद्ध छेडिने आशंका बढेको छ ।
इरान रिभोल्यूशनरी गार्डका प्रवक्ता जनरल हुसैन मोहेब्बीले शनिवार तेहरानमा मिसाइल रेंजमा सोधिएको प्रश्नमा जवाफ दिदै भने, हाम्रा लागि पुरानो प्रतिबन्धहरु हटाइएको छ । यद्यपि उनले अहिले इरानसंग हालको सीमा भन्दा पर जाने मिसाइल छ कि छैन भन्नेमा केही खुलाएका छैनन् । रिभोल्यूशनरी गार्डका प्रवक्ताको यो बयान इरानका सर्वोच्च नेता अयातुल्ला मोजतबा खामेनेईको अमेरिका–इजरायलको नयाँ हमलाविरुद्धको चेतावनीको केही दिनपछि आएको हो । उनले हालै भनेका थिए कि अमेरिका वा इजरायलका तर्फबाट आउने कुनै पनि हमलाको जवाबमा यसपटक कुनै भौगोलिक सीमाको ध्यान राखिने छैन । अर्थात इरानले कुनै पनि सीमासम्म गएर आफ्नो जवाफी कारबाही गर्न सक्छ । इरानसंग मिसाइलहरुको एउटा ठुलो भंडार छ, जसको प्रयोग उसले यस वर्ष अमेरिका–इजरायलविरुद्धको युद्धमा निकै रणनीतिक तरिकाले गरेको थियो ।
यसैबीच उता अमेरिकाले इरानको आणविक कार्यक्रमका बारेमा महत्त्वपूर्ण जानकारी दिने व्यक्तिलाई २ करोड अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयको ‘रिवाड्र्स फर जस्टिस’ कार्यक्रमअन्तर्गत यो घोषणा गरिएको हो। मन्त्रालयले यस्तो गोप्य जानकारी दिने व्यक्तिलाई आवश्यक परेमा सुरक्षित स्थानमा स्थानान्तरण समेत गर्न सकिने जनाएको छ । विदेश मन्त्रालयको विज्ञप्तिअनुसार, इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको सुरक्षा दायित्वहरू पालना नगर्दा इरानको ‘सेन्ट्रिफ्युज’ जस्ता प्रमुख उपकरणहरूको उत्पादन र भण्डारणबारे आईएईएले जानकारी गुमाएको छ । सेन्ट्रिफ्युजको प्रयोग युरेनियम प्रवद्र्धन गर्नका लागि गरिन्छ ।
यसलाई नागरिक प्रयोजनका लागि इन्धन बनाउनुका साथै ९० प्रतिशतभन्दा बढी शुद्ध बनाइएमा आणविक हतियार बनाउन पनि प्रयोग गर्न सकिन्छ। त्यसैले अमेरिकाले इरानको आणविक केन्द्र, उपकरण र त्यहाँ कार्यरत कर्मचारीको सुराकीका लागि यति ठूलो रकम प्रस्ताव गरेको हो । यसबारे आफ्ना टिप्पणीहरु अवस्य व्यक्त गर्नु होला ।



