२२ कार्तिक , काठमाण्डौ । बहुमतको अभावमा विपक्षीकै साथ लिएर फेरि एक पटक इजरेलको शासन सत्ता आफ्नो हातमा लिने वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सपनामा अल्पविराम लागेको छ । इजरायलमा विपक्षी नेता गादी आइजेनकोट इजरायलको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ। राष्ट्रपति इसाक हर्जोगले अर्को सरकार गठनका लागि उनलाई रोजेका हुन्। आइजेनकोटलाई सरकार गठन गर्न ६ हप्ताको समय हुनेछ। यस अवधिमा उनले अन्य दलसँग मिलेर संसद्मा बहुमत प्रमाणित गर्नुपर्नेछ। सरकार गठन गर्न ६१ सांसदको समर्थन चाहिन्छ। गादी आइजेनकोटको गठबन्धनलाई ६ दलका ६७ सांसदको समर्थन छ। प्रधानमन्त्री नेतुन्याहुलाई केवल ४६ सांसदको समर्थन छ, जुन बहुमतभन्दा धेरै कम हो। त्यसैले राष्ट्रपतिले उनलाई सरकार गठन गर्ने पहिलो मौका दिएनन्। आइजेनकोटलाई चार यहुदी दल र दुई अरब दलसहित ६ पार्टीका ६७ सांसदको समर्थन छ।
चार यहुदी दलसँग कुल ४८ सिट छन् भने दुई अरब दलसँग १९ सिट छन्। सबैभन्दा ठुलो चुनौती के हो भने यी ६ पार्टीमध्ये ३ यहुदी दल अरब दलसँग मिलेर सरकार बनाउन इच्छुक छैनन्। आइजेनकोटले पनि चुनावअघि अरब दललाई सरकारमा समावेश गर्न अस्वीकार गरेका थिए। यद्यपि अरब दलहरूले नेतन्याहुलाई सत्ताबाट हटाउन आइजेनकोटलाई समर्थन गरिएको बताएका छन्।
आइजेनकोटले आइतबार साँझ ५ बजे राष्ट्रपति निवासमा औपचारिक रूपमा सरकार गठनको जिम्मेवारी प्राप्त गर्नेछन् । त्यसपछि उनलाई सरकार गठन गर्न २८ दिनको समय दिइनेछ । आवश्यक परे राष्ट्रपतिले थप १४ दिन समय दिन सक्नेछन् । उनी असफल भएमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पुनः अवसर दिन सकिनेछ । राष्ट्रपति हर्जोगका अनुसार उनले विभिन्न राजनीतिक दलसँगको परामर्शपछि आइजेनकोट र नेतान्याहुलाई आफ्नो निर्णयबारे जानकारी गराएका हुन् । परामर्शका क्रममा आइजेनकोटलाई प्रधानमन्त्री बनाउन १२० सदस्यीय संसद्का ६७ सदस्यले समर्थन जनाएका थिए भने नेतान्याहुको पक्षमा ४६ जनाले समर्थन गरेका थिए । सात सदस्य रहेको युनाइटेड टोरा जुडाइज्मले भने कसैको पक्षमा सिफारिस गरेन । राष्ट्रपतिको निर्णयपछि आइजेनकोटले राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने समय आएको बताएका छन् । तर उनको गठबन्धन निर्माणको बाटो सहज छैन । उनको पक्षका केही नेताहरू अरब नेतृत्वका दलसँग सहकार्य गर्न तयार छैनन् भने केहीले नेतान्याहु र अति अर्थोडक्स दलहरूलाई विपक्षमा राख्नुपर्ने धारणा राखेका छन् । याशार पार्टीले नेतान्याहु नेतृत्वको लिकुड पार्टी र उसका सहयोगी दलहरूलाई गठबन्धनमा सहभागी हुन सक्ने बताए पनि नेतान्याहुलाई भने स्वीकार नगरेको जनाएको छ । नेतान्याहुले पनि राष्ट्रिय एकताको सरकार गठन गर्न आह्वान गरेका छन् । तर उनले आफ्ना पूर्वगठबन्धनका सबै दललाई सरकारमा सहभागी गराउनुपर्ने सर्त राखेका छन् ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अक्टोबरमा भएको चुनावभन्दा ठीक अगाडि इरानमाथि आक्रमण गर्ने योजनामा अमेरिकी राष्ट्रपति नै बाधक बनेको रहस्य खुलेको छ । इजरायली न्युज च्यानल–१२ ले शुक्रबार प्रकाशित आफ्नो रिपोर्टमा यस्तो दाबी गरेको हो। रिपोर्टका अनुसार नेतान्याहुले इजरायलको जासुसी एजेन्सी मोसादका प्रमुख रोमन गोफम्यानसँग मिलेर आक्रमणको योजना बनाएका थिए। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको सुइँको पाएपछि हस्तक्षेप गरेर आक्रमणको योजना रोकाइदिए। रिपोर्टका अनुसार इजरायली सेना र सुरक्षा निकायका कैयौँ उच्च अधिकारीहरू नेतान्याहुको यस योजनाको विपक्षमा थिए। आक्रमण गरेमा इरानले जवाफी प्रहार गर्न सक्ने, जसले गर्दा दुई देशबीच तनाव अझ बढ्ने र २७ अक्टोबरमा हुने चुनावसमेत टर्न सक्ने उनीहरूको आशङ्का थियो।

अधिकारीहरूको असहमतिका बाबजुद नेतान्याहुले योजनामा काम जारी राखेका थिए। च्यानल–१२ का अनुसार इजरायलका एक सुरक्षा अधिकारीले हतारमा यस्तो कदम चाले, जसबाट अमेरिकाले यस योजनाबारे थाहा पायो। ती अधिकारीले के कदम चालेका थिए भन्नेबारे भने स्पष्ट पारिएको छैन। यता, प्रधानमन्त्री नेतान्याहुको कार्यालयले यस समाचारलाई झुटो बताएको छ। इजरायली चुनावअघि इरानमाथि आक्रमण गर्ने कुनै योजना नरहेको कुरा प्रधानमन्त्रीले त्यतिबेलै स्पष्ट पारेको कार्यालयको भनाइ छ। इरानमाथिको कारबाहीलाई लिएर नेतान्याहु र इजरायली सेना प्रमुख एयाल जमीरबीच तनाव भएको खबर यसअघि पनि बाहिर आएको थियो।
२५ अक्टोबरमा च्यानल–१२ ले जनाएअनुसार नेतान्याहुले सेनालाई यस्तो आदेश दिएका थिए, जसले इरानसँगको लडाइँ पुनः सुरु गराउन सक्थ्यो। तर, सेना प्रमुख जमीरले उक्त आदेश मान्न अस्वीकार गरिदिए। जमीरले यस विषयमा पुनः छलफल गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीसँग लिखित आदेश र कारबाहीका लागि कानुनी स्वीकृति मिलेको दस्ताबेज मागेका थिए। सेनाका उच्च अधिकारीहरूलाई नेतान्याहुले चुनावमा फाइदा उठाउन इरानको मुद्दा प्रयोग गर्न खोजेको शङ्का थियो र चुनावअघि कुनै कारबाही भए अवस्था बिग्रिने डर थियो। नेतान्याहुले त्यतिबेला यी खबरहरूलाई पनि बकवास भन्दै सेना प्रमुखसँग आफ्नो कुनै विवाद नरहेको दाबी गरेका थिए। यद्यपि, उनले सेना र मोसादलाई इरानको वर्तमान सरकार ढाल्न निर्देशन दिएको कुरा भने स्वीकारेका थिए। कतारको मध्यस्थतामा अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने बाटो खोज्न वार्ता चलिरहेको छ।
यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः आक्रमण सुरु गर्ने विषयमा विचार गरिरहेको खबरहरू पनि आइरहेका छन्। च्यानल–१२ का अनुसार अमेरिकी मध्यावधि चुनावअघि नेतान्याहुले ट्रम्पलाई मतदान सकिनेबित्तिकै इरानमाथि फेरि आक्रमण गर्न आग्रह गरेका थिए। तर, ट्रम्प हाल इरानसँगको वार्तालाई थप केही समय दिन चाहन्छन्। वार्ता अगाडि बढेमा इरानमाथि लागेका प्रतिबन्ध र अन्य दबाबहरू कम हुन सक्ने डर नेतान्याहुलाई छ। शुक्रबार ट्रम्पले पनि अमेरिकाले इरानसँग कुरा गरिरहेको र वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताए। आफूले इरानलाई परमाणु हतियार बनाउनबाट नरोकेको भए आज इजरायल र सिङ्गो मध्यपूर्व सुरक्षित नहुने दाबीसमेत ट्रम्पले गरेका छन् ।



