९ माघ,काठमाण्डौ ।
नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई आज विहान पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ ।
पुस ९ देखि २७ सम्म भएको खेलमा म्याच फिक्सिङ भएको कुरा आएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले अनुसन्धान अन्तिम चरणमा पु¥याउँदै स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु भेटेपछि त्यसमा संलग्नताको आशंकामा दुई क्रिकेटर पक्राउ गरेको हो ।
आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ । पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।
सीआईबीका अधिकृतहरुका अनुसार आलमले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेका थिए । त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो । त्यसमा ‘म्याच फिक्सिङ’ गर्ने प्रयास भए पनि अनुसन्धान सुरु भएपछि त्यो सम्भव नभएको सीआईबी स्रोतले उल्लेख गरेको छ ।
म्याच फिक्सिङमा पुरै हारजित हुने गरी सट्टेबाजी हुने गर्छ । स्पट फिक्सिङमा यति रनमा आउट हुने÷नहुने, व्यक्तिले यति बलमा यति रन गर्छु, बलरले यति ओभरको यति बलमा लुज बल गर्ने आदिलगायतका विषयमा सेटिङ भएको हुन्छ । त्यसैको आधारमा हुने सट्टेबाजी अनि पैसामा दाउ लगाउने गरिन्छ ।
पहिला नै निर्धारण गरिएका गतिविधिका बलमा खेलको नतिजा हेरफेर गर्ने गरी निश्चित खेलाडीसँग लेनदेन गर्नु ‘स्पष्ट फिक्सिङ’ हो । खेल चलिरहेका बेला फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले खुलासा गरेका थिए ।
पछि प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । त्यसपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पनि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए । नेपाल टी–२० लिगमा ५६ नेपाली र ३४ जना विदेशी खेलाडी सहभागी थिए ।