आज गाई पूजामा रक्षाबन्धन डोरोको के महत्व ?

२३ कात्तिक २०८३, सोमबार
Share this
710shares

२३ कार्तिक , काठमाण्डौ ।   यमपञ्चक अन्तर्गत आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ । धार्मिक परम्पराअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ ।

Advertisement

नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाईपूजा गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परा पनि छ । पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्रा डा रामचन्द्र गौतमले बताए । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन डोरो गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।यस वर्षको तिहारअन्तर्गत हिजो कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा मनाइएको छ । त्यसैगरी कात्तिक २४ गते भोलि मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइने कार्यक्रम रहेको छ। सोही दिनदेखि नेपाल संवत् ११४७ पनि सुरु हुनेछ। यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका तथा माला लगाइदिएर भाइटीका मनाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको छ। पाँच दिनसम्म मनाइने तिहारमा दीपावली, पूजा, पारिवारिक भेटघाट र आपसी सद्भाव आदानप्रदान गर्दै पर्व मनाउने गरिन्छ।

यसैबीच यस वर्षको लक्ष्मीपूजाका दिन नेपालमा विद्युत्को उच्चतम माग एक हजार ८१३ मेगावाट पुगेको छ । आइतबार साँझ ६ः१५ बजे यसको उच्चतम माग एक हजार ८१३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उक्त समयमा नेपालको कुल विद्युत् उत्पादन दुई हजार ४००.३० मेगावाट थियो । कुल उत्पादनमध्ये ५८७.३० मेगावाट विद्युत् भारततर्फ निर्यात गरियो । यसरी आन्तरिक खपत र निर्यातसहित प्रणालीको उच्चतम भार दुई हजार ४००.३० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । यस वर्षको लक्ष्मीपूजामा निजी क्षेत्रका विद्युत् आयोजनाबाट एक हजार ५३६.५० मेगावाट बिजुली उत्पादन भएको छ । प्राधिकरणको सहायक कम्पनीबाट ४९९.२०, नदी प्रवाहमा आधारित तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् उत्पादन भएको जनाइएको छ । यस अवधिमा तापीय आयोजनाबाट विद्युत् उत्पादन भएको थिएन । भारतबाट पनि विद्युत् आयात गर्नुपरेको थिएन । लक्ष्मीपूजाका दिन काठमाडौं उपत्यकाको विद्युत् माग ४८९.५० मेगावाट पुग्यो । यसले उपत्यकामा विद्युत् खपत बढेको देखाउँछ । उक्त समयमा विद्युत् प्रणालीको आवृत्ति ५०.१२० हर्ज रहेको थियो । प्रणालीमा अवरोध शून्य देखिएको प्राधिकरणले जनाएको छ ।

Advertisement

गत वर्षको लक्ष्मीपूजासँग तुलना गर्दा यसपालि राष्ट्रिय विद्युत् माग बढेको छ । ०८२ कात्तिक ३ गते परेको लक्ष्मीपूजाका दिन राष्ट्रिय विद्युत् माग एक हजार ७४५ मेगावाट थियो । त्यति बेला कुल विद्युत् उत्पादन दुई हजार ७६० मेगावाट पुगेको थियो । एक हजार १५ मेगावाट विद्युत् निर्यात गरिएको थियो । काठमाडौं उपत्यकाको माग ४०२.४९ मेगावाट थियो । ०८१ कात्तिक १५ गतेको लक्ष्मीपूजामा राष्ट्रिय विद्युत् माग एक हजार ६०२.२० मेगावाट थियो । त्यस दिन कुल विद्युत् उत्पादन एक हजार ८५५ मेगावाट पुगेको थियो । विद्युत् निर्यात २५२.९० मेगावाट थियो । काठमाडौं उपत्यकाको माग ३८०.५० मेगावाट रहेको प्राधिकरणले जनाएको छ । तीन वर्षको तथ्यांक हेर्दा लक्ष्मीपूजाका दिन राष्ट्रिय विद्युत् माग निरन्तर बढेको देखिन्छ । काठमाडौं उपत्यकाको विद्युत् मागमा पनि उल्लेख्य वृद्धि देखिएको प्राधिकरणले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top