Nepal Times
Nepal Times
3
Shares

एम्बाप्पेको एकै खेलमा ५ गोल, बने पहिलो खेलाडी

एम्बाप्पेको एकै खेलमा ५ गोल, बने पहिलो खेलाडी

१० माघ, एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलमा पेस डे कासललाई फराकिलो अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा छैटौँ श्रेणीको पेस डे कासललाई ७–० गोल अन्तरले हराउँदै पिएसजी अन्तिम १६ मा प्रवेश गरेको हो ।

अर्जेन्टिनी फरवार्ड लियोनल मेसीलाई विश्राम दिइएको खेलमा पिएसजीले ७–० को जित दर्ता गरेको हो । पिएसजीको जितमा केलियन एमबाप्पे गोलको वर्षा गरे । उनी एक्लैले ५ गोल गरे । नेइमार र कार्लोस सोलेरले थप १–१ गोल गरेका थिए । खेलको २९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए ।

३३ औं मिनेटमा नेइमारले अग्रता दोब्बर पारे । त्यसको १ मिनेटपछि एम्बाप्पेले अग्रता तेब्बर पारे । ४० औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गर्दा पिएसजी ४–० ले अघि रह्यो । एम्बाप्पेले दोस्रो हाफमा थप २ गोल गरे । ५६ र ७९ औँ मिनेटमा थप दुई गोल गर्दै उनले ५ गोल पूरा गरेका थिए ।

एम्बाप्पे एकै खेलमा ५ गोल गर्ने पिएसजीको पहिलो खेलाडी समेत बने । थप अर्को गोल कार्लोस सोलेरले ६४ औँ मिनेटमा गरेका थिए । अब पिएसजीले क्वाटरफाइनलमा पुग्न मार्सेको सामना गर्नेछ । यता फरवार्ड ह्यारी केनको गोल सहयोगमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा महत्वपूर्ण जित निकालेको छ ।

टोटेनहमले घरेलु टोली फुलहममाथि १–० को जित दर्ता गरेको हो । केनले पहिलो हाफको अन्त्यतिर गरेको गोल नै टोटेनहमको जितमा निर्णायक बन्यो । क्राभेन कटेज लन्डनमा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा केनले गोल गर्न सफल भएका थिए ।

उनले ह्युङ मिन सनको पासलाई सदुपयोग गरेका थिए । फुलहमविरुद्धको गोलसँगै केनले क्लबका लागि २६६औं गोल गर्दै टोटेनहमका सर्वकालीन सर्वाधिक गोलकर्ताको रुपमा जिमी ग्रीभ्सको कीर्तिमानलाई बराबरी गरेका छन् । २९ वर्षीय इङ्ल्यान्ड फरवार्डले टोटेनहमका लागि ३०० प्रिमियर लिग खेलमा उनको १९९औै गोल हो ।

चेल्सीबाट करियर सुरु गरेका ग्रीभ्सले सन् १९६१ देखि १९७० सम्म स्पर्सका लागि ३७९ खेलमा २६६ गोल गरेका थिए । सन् २०११ मा टोटेनहममा डेब्यु गरेका केनले क्लबका लागि ४१५ खेलमा २६६ गोल गरेका छन् । यस जितसँगै टोटेनहम २१ खेलबाट ३६ अंक जोडेर चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दुरी छोट्याएर पाँचौं स्थानमा यथावत रहेको छ । पराजित फुलहम २१ खेलबाट ३१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.