११ माघ, विराटनगर । शहरहरुमा मानिसहरुलाई बस्नका लागि कोठा खोज्न तथा कोठा भाडामा लगाउन सहयोग गर्ने उद्धेश्यले विराटनगरमा वेभसाईट र मोबाईल एप्लिकेशनको सुरुवात गरिएको छ ।
बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी एन पी रुम डट कम वेभसाइट र मोबाइल एप्लिकेशनको सुभारम्भ गर्दै यसले आफ्नो घर भाडामा लगाउन चाहने र कोठा भाडाको खोजीमा रहेका सेवाग्राहीलाई सहज बनाउने एनपी रुम डटकमका संचालक तथा वेभसाईट निर्माता समेत रहेका कम्प्युटर सब इन्जिनियर हिरा लाल चौधरीले बताए ।
यो वेभसाइटका प्रयोगकर्ताले आफूलाई चाहिएको क्षेत्रमा कोठा भाडामा लिन सहज हुने छ भने घर भाडामा दिन चाहनेलाई समेत सहज हुने उनले बताएका छन् । कोठा लिन र दिन चाहने दुवै पक्षले यो वेभसाइटको आफै प्रयोग गर्न सक्नेगरी डिजाईन गरिएको छ ।
घर भाडामा लगाउन चाहने पक्षले वेभसाइटमा क्लिक गरेर आफ्नो घरको बिषयमा सम्पूर्ण विवरण र घरकोठाको फोटो समेत राखेर अपलोड गर्न सक्ने छन् भने भाडामा लिन चाहनेले समेत आफूलाई आवश्यक रहेको कोठाहरु छनौट गरि उक्त घरधनीको नम्बर र सम्पूर्ण विवरण प्राप्त गर्न सक्नेछन ।
घर कोठा भाडामा लिन चाहने ब्यक्तिले वेभसाईट र एप्लिकेशनमा उपलब्ध घरकोठा हेरेर त्यहाँ उपलब्ध एउटा कन्ट्याक्ट फर्म भर्नुपर्ने हुन्छ । उक्त फर्म भर्ने बित्तिकै घरधनिको कन्ट्याक्ट नम्बर हेर्न सकिनेगरि वेभसाइट डिजाइन गरिएको छ ।
यस वेभसाईट र मोबाईल एप्लिकेशनको सम्पूर्ण सेवाहरु निःशुल्क रहेको समेत संचालक चौधरीले बताए । उनले घरधनीले आफ्नो डाटा ईन्ट्री गर्दा वा कोठा भाडामा लिन चाहने दुवै पक्षलाई कुनैपनि शुल्क नलाग्ने बताए ।
कम्प्युटर सब ईन्जीनियर रहेकाले चौधरीले डेढ बर्षसम्म लगातार मेहनत गरेपछि वेभसाइट र एप्लिकेशन निर्माण गर्न सकेको बताएका छन् सेवाहरु निशुल्क दिंदा मलाई फाईदा के भन्ने प्रश्न उठ्छ भन्ने जिज्ञाशामा चौधरीले भविष्यमा यो वेभसाइट र एप्लिकेशनमा आउने विज्ञापनबाट आफ्नो खर्च उठाउने र यसलाई थप परिस्कृत गर्दै लैजाने आफ्नो योजना रहेको बताएका छन् ।