१३ माघ, एजेन्सी ।
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ । यो अवस्थाले अल नासरलाई मात्रै होइन विश्वभरका रोनाल्डोका समर्थकलाई स्तब्ध बनाएको छ । यसअघिको आफ्नो डेब्यु खेलमा समेत गोलगर्नबाट चुकेका रोनाल्डो गएरातिको खेलमा पनि गोलविहीन बने ।
साउदी आएपछिको आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा भने मेसी, एमबाप्पे, नेइमार लगायत स्टार खेलाडीहरुले भरिएको पिएसजीविरुद्ध उनले शानदार खेल प्रर्दशन गरेका थिए । तरपनि सो खेल भने पिएसजीले नै जितेको थियो । विहीबार सम्पन्न सेमिफाइनलमा अल इतिहादसँग ३–१ ले पराजित भएपछि रोनाल्डोको साउदीमा उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन ।
विजयी टोलीका लागि रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले गोल गरे । एन्डरसन टालिस्काको गोल निर्णय बदल्न पर्याप्त रहेन । खेलमा अधिकांश समय बलमा पकड जमाएपनि अल नासरले पाएको अवसर सदुपयोग गर्न सकेन । यता अल इतिहादले काउन्टर अट्याकमा लगातार समस्या सिर्जना गर्दै अल नासरको डिफेन्सलाई दवावमा राख्यो ।
१५ औं मिनेटमा रोमारिन्हो र ४३ औं मिनेटमा हम्दाल्लाहले गोल गर्दै इतिहादलाई पहिलो हाफमा २–० ले अघि बढाए । ६७ औं मिनेटमा टालिस्काले गोल फर्काउँदै सम्भावना देखाएपनि इन्ज्युरी समयमा अलशान्कितिले इतिहादको जित सुनिश्चित गरे । यसपटक नयाँ नियम लागु भएका कारण अल नासरले सुपर कपमा प्रतिस्पर्धा गर्न पाएको थियो ।
विगतमा दुई टोली खेल्ने सुपर कपमा यसपटक चार टोली समेटिएका थिए । लिग र किंग्स कपको शीर्ष दुई टोली छनोट हुने व्यवस्था गरिएको हो । तर अल हिलाल लिग विजेता र कप उपविजेता रहेकाले लिगको तेस्रो अल नासरले अवसर पाएको थियो । विहीबार नै भएको अर्को सेमिफाइनलमा किंग्स कपको विजेता अल फाएहाले अल हिलाललाई १–० ले हरायो । सोमबार अल इतिहाद र अल फाएहाबिच फाइनल खेल हुनेछ ।