१३ माघ ,एजेन्सी ।
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ । सम्झौतापछि अल नासरका लागि सुपर कपमा दुई खेल खेलेका रोनाल्डो दुवै खेलमा गोलगर्नबाट भने बन्चित भएका छन् । विहीबार सम्पन्न सेमिफाइनलमा अल इतिहादसँग ३–१ ले पराजित भएपछि रोनाल्डोको साउदीमा उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन ।
विजयी टोलीका लागि रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले गोल गरे । एन्डरसन टालिस्काको गोल निर्णय बदल्न पर्याप्त रहेन । रोनाल्डो भएर पनि अल नासरले जित निकाल्न सकेन। बलमा बढी नियन्त्रण राखेर पनि आक्रमणमा चुक्दा अल नासर पराजित हुन पुगेको हो।
बलमा ६५ प्रतिशत नियन्त्रण राख्दा अल नासरको तर्फबाट १७ प्रहार भएका थिए। त्यसक्रममा तीन प्रहार मात्रै टार्गेटमा थिए। अल इतिहादले बलमा कम नियन्त्रण राखेपनि राम्रो आक्रमण गर्यो। अल इतिहादले खेलभर ९ प्रहार गरेको थियो। त्यसमध्ये ५ प्रहार टार्गेटमा थिए। त्यसमध्ये पनि तीन प्रहार गोलमा परिणत भए।
रोनाल्डो अल नासरबाट मैदानमा उत्रिरहेका बेला अल इतिहादका समर्थकले पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार लियोनेल मेसीको समर्थनमा नारा लगाएका थिए। उनीहरुले रोनाल्डोले बल पाउने बितिकै मेसीको समर्थनमा नारा लगाएका हुन्। खेलभर नै स्टेडियममा मेसीको समर्थनमा नारा लागेको बताइएको छ।
सोक्रममा भिडियोहरु पनि यति बेला सामाजिक संजालमा देखा परिरहेका छन्। सामाजिक संजालमा यति बेला मेसीको समर्थनमा नारा लागेका भिडियोहरु भाइरल भैरहेका छन्। विश्व फुटबल जगतमा मेसी र रोनाल्डोलाई एकअर्काका कडा प्रतिस्पर्धी मानिन्छ । उनीलाई लिएर को सर्वाेत्कृष्ट खेलाडी हो भन्नेमा पनि विश्वभरका प्रशंसकहरु बाडिदै आएका छन् ।