१३ माघ,काठमाण्डौ ।
कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला मन्दिरमा रुद्राभिशेकसहित विशेष पुजा गरी जनकपुर हुँदै अयोध्याका लागि बिदाइ गरिएको छ ।
म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला बुधबार क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो । नगर प्रमुख सुरत केसीले शिलाको पूजा आराधना गरी जनकपुर मन्दिरका पिठाधीस रामतपश्वेर दासलाई सो शिला हस्तान्तरण गरेपछि बाजागाजा र ¥यालीसहित बेनी बजार परिक्रमा गराई जनकपुर ल्याइएको छ ।
रामको मूर्ति बन्ने शिलाको दर्शन गर्न सयौँ भक्तजन, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण लगायतको भीड लागेको थियो । गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गङ्गा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलाई शिलाको प्रतिकस्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गरेका थिए ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार १८ र १६ मेट्रिकटन तौल भएका सात फिट लम्बाइ पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई शिलाको पहिचान र क्षमापूजाको काम सम्पन्न भएपछि श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुर हुँदै अयोध्या पठाइएको नगर प्रमुख केसीले बताएका छन् ।
अयोध्याका राममन्दिर कोषका महासचिव चम्पत राईका अनुसार रामको मूर्ति बनाउन भारतका चर्चित शिल्पकारको तीन सदस्यीय टोलीले काम गरिरहेको छ । उभिएको मुर्तिका धेरै साना मोडलहरू आएका छन्। मन्दिर ट्रस्टले ती मध्ये एक छनोट गर्नेछ। यो मूर्ति साढे पाँच फिट अग्लो हुनेछ जसको मुनि करिब ३ फिट अग्लो स्ट्याण्ड बनाइनेछ ।
शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन् । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दू धर्मावलम्बीका लागि निकै बहुमूल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल हुदै गएको छ । मुस्ताङको दामोदर कुण्ड आसपासका क्षेत्रबाट बग्ने कालीगण्डकी नदी पवित्र तीर्थस्थलका रुपमा समेत चिनिन्छ ।
कालीगण्डकी नदीमा शालिग्राम शिला पाइने भएकाले पनि भक्तजन खोजी गर्ने र दर्शकका लागि जाने गर्दछन् । हिन्दू धर्ममा शालिग्रामको विशेष महत्व छ । यो ढुङ्गा एक प्रकारको जीवाश्म पत्थर हो, यो कालीगण्डकी नदीको किनारमा पाइन्छ। भनिन्छ, शालिग्रामका ३३ प्रकार छन्, जसमध्ये २४ प्रकार भगवान विष्णुका २४ अवतारसँग सम्बन्धित छन् ।
जुन घरमा शालिग्रामको ढुङ्गा हुन्छ, त्यस घरमा सुख–शान्ति कायम रहन्छ र आपसी प्रेम कायम रहन्छ भन्ने विश्वास गरिन्छ। यसका साथै लक्ष्मी माताको कृपा सदा कायम रहन्छ। शालिग्रामको उपस्थितिले लक्ष्मीजीलाई आकर्षित गर्ने धार्मिक मान्यता छ।
पुराणका अनुसार शिवलिंग र शालिग्रामलाई भगवान् विष्णु र भगवान शिवको देवताको रूपमा पूजा गरिन्छ। हिन्दू धर्ममा मूर्तिपूजा गर्ने चलन छ तर यी मूर्तिहरूभन्दा पहिले ब्रह्मालाई शंखको रूपमा, भगवान विष्णुलाई शालिग्रामको रूपमा र शिवलाई शिवलिंगको रूपमा पुजा गरिन्छ ।