Nepal Times
Nepal Times
45
Shares

प्रचण्ड प्रधानमन्त्री बनेपछि पश्चिमाको भ्रमण किन बाक्लियो ?

प्रचण्ड प्रधानमन्त्री बनेपछि पश्चिमाको भ्रमण किन बाक्लियो ?

१९ माघ, काठमाण्डौ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बनेसंगै पश्चिमा उच्च अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । नयाँ सरकार बनेको महिना दिनपछि नै अमेरिकासहित पश्चिमा मुलुकका अधिकारीहरुले एकपछि अर्को भ्रमण गर्न लागेका छन् ।

हालै अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन । सो दौरान उनले प्रचण्ड सरकारको अमेरिका नीतिबारे चासो राखेकी थिइन् । नुल्यान्ड फर्केको एक सातापछि नै अमेरिकाबाट अर्को एक मन्त्रिस्तरीय भ्रमण हुँदैछ ।

अर्काेसाता हुने भनिएको अमेरिकी मन्त्रीस्तरीय भ्रमण २१ वर्षपछिको उच्चस्तरीय भ्रमण हो । अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रमुख समान्था पावर आगामी मंगलबार नेपाल भ्रमणमा आउने भएकी हुन् । पछिल्लो पटक पुनः वाम वर्चस्वको नयाँ सरकार बनेपछि नेपाल आउने पावर नै उच्च अमेरिकी अधिकारी हुनेछिन् ।

दुई दिने नेपाल बसाइमा पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्नेछिन् । पावरको भ्रमणमा यूएसएआईडीमार्फत् खर्च हुने ८० अर्ब रुपैयाँको अनुदान सहायता परिचालनबारे कुराकानी हुने भएको छ ।

त्यसैगरी भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गत बन्ने विकास पूर्वाधारका परियोजना अघि बढाउनेबारे पनि छलफल हुनेछ । समान्था पावर फर्केलगत्तै अमेरिकी विदेश मन्त्रालयमा एसिया मामिला हेर्ने अर्का एक उपसहायक विदेशमन्त्री पनि नेपाल आउने तयारी भइरहेको बताइएको छ ।

यस्तै अमेरिकी अधिकारीसँगै बेलायती विदेश मन्त्रालयका वरिष्ठ अधिकारी तथा सैनिक अधिकारीको नेपाल भ्रमण पनि हुँदैछ । यही साता एक बेलायती सैनिक अधिकारी काठमाडौं आउँदैछन् । त्यसैगरी बेलायतका एक रक्षा अधिकारी पनि फेब्रुअरी महिनामा नै यहाँ आउनेछन् ।

बेलायती विदेश राज्यमन्त्री आन म्यारी ट्रिभिलिअन मार्च पहिलो साता नेपाल आउने तयारीमा छिन् । उनको कार्यक्षेत्रभित्र हिन्द प्रशान्त क्षेत्र पर्छ । पश्चिमा शक्ति र चीनबीच हिन्द प्रशान्त क्षेत्रमा भूराजनीतिक प्रतिस्पर्धा बढ्दो छ । अमेरिकापछि क्यानडा, बेलायत, फ्रान्स, रुस लगायतले पनि हिन्द प्रशान्त क्षेत्रमा आफ्नो सक्रियता बढाइरहेका छन् ।

जसका कारण हिन्द प्रशान्त क्षेत्र भूराजनीतिको केन्द्र बनिरहेको छ । त्यसको सिधा असर नेपालमा पर्नेछ । यस्तै पश्चिमा अधिकारीको बाक्लिँदो भ्रमणले छिमेकी भारत र चीन संशकित बन्नसक्ने कतिपय सरकारी अधिकारीको भनाइ छ । भारतसँग पश्चिमा मुलुकको रणनीतिक सानिध्य रहे पनि युक्रेन—रुस द्वन्द्व लगायत जल्दाबल्दा भूराजनीतिक मुद्दामा भारतसँग मतभिन्नता छ । चीनसँग विश्वव्यापी मुद्दामा सबैजसो पश्चिमा मुलुकको प्रतिद्वन्द्विता रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.