१९ माघ, काठमाण्डौ ।
नेपाल क्रिकेट संघ (क्यान)ले कार्यसमितिको अर्ली इलेक्सनको निर्णय गरेको छ । पोखरामा बुधबार सम्पन्न बैठकले जिल्ला र प्रदेशको प्रक्रिया टुंग्याएर जेठ मसान्तसम्म केन्द्रीय निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो । असोज, २०७६ मा निर्वाचित भएको क्यान कार्यसमिति (बोर्ड) को पदावधि सकिनु पाँच महिनाअगावै निर्वाचन गर्ने घोषणा गर्नुलाई नेपाल टी–२० लिगका कारण परेको संकटको सुरक्षित अवतरण प्रयासका रुपमा हेरिएको छ ।
किनभने क्रिकेट संघको फ्लागसिप टुर्नामेन्ट नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएपछि कार्यसमिति सदस्यहरुले नै अध्यक्षको राजीनामा मागेका थिए । मंगलबार कार्यसमितिको बैठकका लागि पोखरा पुगेका सात सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गर्दै बैठक बहिस्कार गरेका थिए । क्यानले निर्वाचनको घोषणा गरेसंगै अब नयाँ नेतृत्वमा को आउँछ भन्नेमा धेरैको चासो बढेको छ ।
अध्यक्षसहित कार्यसमितिमा आउन चाहानेहरुको चर्चा सुरु भएको छ । यसैबीच राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का पनि चर्चामा छन् । तर उनले क्यानको आसन्न निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् । क्यानको २०७५ सालमा तेस्रोपल्ट संशोधन गरिएको विधानमा क्रिकेट संघको सदस्यता हुनका लागि राष्ट्रिय टोलीबाट बाहिरिएको दुई वर्ष हुनुपर्ने उल्लेख छ ।
विधानको दफा २३ को उपधारा ३ (क)मा भनिएको छ, ‘‘.यस उपधारा बमोजिम सदस्यता प्राप्त गर्ने खेलाडीले कार्यसमितिको निर्वाचन नुहुभन्दा अगावैको कम्तिमा दुई वर्षको अवधिमा भएका राष्ट्रिय टोलीमा सहभागी नभएको अवस्थामा मात्र कार्यसमितिको पदाधिकारी वा सदस्यका रुपमा निर्वाचित हुन सक्नेछ ।’
यो विधानले पारसलाई क्यान कार्यसमितिमा आउन रोक लगाउने छ । जेठ मसान्तभित्र केन्द्रीय निर्वाचन भए पारस कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैनन् । पारस २०७६ चैतदेखि नै राष्ट्रिय टिममा थिएनन् । २०७७ चैतसम्म उनले घरेलु क्रिकेट खेलेका थिए ।
उनले २०७८ साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । क्रिकेट संघले चार पर्षे कार्यकाल पुरा गरेर चुनाव गर्ने हो भने पारस उम्मेदवार हुन सक्नेछन् । तर आफ्नो कार्यकाल सकिनु चार महिना अगावै निर्वाचनमा जाने निर्णय गरेका कारण पारस त्यो प्रक्रियामा समावेश हुन नपाउने भएका हुन् ।