२३ माघ, एजेन्सी ।
टर्कीमा शक्तिशाली भूकम्प गएको छ । दक्षिण–पूर्वी टर्कीको गाजियनटेपमा आज बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाली सीमानजिकै गाजियनटेपको कहानमारास नजिक ७.८ म्याग्निच्युडको पहिलो भूकम्प महसुस गरिएको थियो ।
यूएसजीएसले यहाँ जनधनको ठूलै क्षति हुने सम्भावना रहेको जनाएको छ । यसको १५ मिनेटपछि मध्य टर्कीमा भूकम्पको दोस्रो धक्का महसुस गरिएको थियो । अहिलेसम्म प्राप्त जानकारीअनुसार भूकम्पमा परी टर्की र सिरियामा गरी कम्तीमा ९० जना बढी नागरिकको मृत्यु भएको छ । मृतक मध्ये ४२ जना सिरियाका रहेका छन् ।
अहिले पराकम्प गइरहेको र उद्धार जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको छ । भूकम्पको धक्का सिरिया, साइप्रस र लेबनानसम्म महसुस गरिएको बेलायती अखबार दि गार्डियनले जनाएको छ ।
शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प आएसँगै त्यहाँका नागरिकहरु घर छाडेर सार्वजनिक ठाउँहरुमा शरण लिइरहेका छन् । भूकम्प प्रभावित क्षेत्रका पूर्वाधारमा ठूलो क्षति पुगेको छ । यसैबीच टर्की सरकारले संकटकाल घोषणा गरेको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले ट्वीटरमा भूकम्प प्रभावित क्षेत्रमा सुरु भएको उद्धार कार्यको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘काहनेमर्सलगायत देशका अन्य क्षेत्रमा भूकम्पबाट प्रभावित हाम्रा नागरिकहरूप्रति म संवेदना प्रकट गर्दछु। हाम्रा सबै उद्धार टोलीहरू एएफएडीसँगको समन्वयमा सक्रिय रूपमा काम गरिरहेका छन्।’
भूकम्पबाट भएका जनधन क्षतिबारे विस्तृत विवरण आउन भने बाँकी छ । टर्कीका गृहमन्त्री सुलेमान शोइलुले भूकम्पले देशका १० सहरमा ठूलो प्रभाव पारेको बताएका छन् । यी सहरहरू काहमानमार्श, हाते, गाजियन्टेप, ओस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिस हुन्।