२३ माघ, काठमाण्डौ ।
पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाल आएर सन्दीप लामिछानेसहितका राष्ट्रिय क्रिकेटरहरुसँग भेटेका छन् । आइतबार बेलुकी नेपाल आइपुगेका उनले आज सोमबार बिहान राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई भेटेका हुन् । आइतबार नै बेलुकी रिजवानले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेट्दै नेपाली क्रिकेटका बारेमा छलफल गरेका थिए ।
रिजवानले सन्दीपलाई भेट्ने मनासाय आफूसँग राखेको चन्दले बताएका थिए । चन्दका अनुशार सन्दीप बाहिर जान नपाउने भएकाले उनलाई भेट्न आएको रिजवानले बताएका थिए । बलात्कार आरोप लागेका सन्दीपलाई क्रिकेट प्रति हौसला प्रदान गर्न रिजवान नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान) उच्च स्रोतले जानकारी दिएको छ ।
सन्दीपलाई रिजवानले आइतबार नै भेटेर हौसला प्रदान गरेका छन् । सन्दीपलाई हौसला र मनोबल बढाउन नै पाकिस्तानबाट नेपाल आइपुगेको बुझिएको छ । सन्दीप विदेश जान नपाउने शर्तसहित अदालतको आदेशमा धरौटीमा छुटेका छन् र उनलाई क्यानले राष्ट्रिय टिममा समावेश गरेका छ । जसको आलोचना समेत भइरहेको छ ।
निक्कै छोटो समयका लागि नेपाल आएका रिजवान आजै १२ बजे फर्किएका छन् । रिजवान वर्तमान समयका टि२० क्रिकेटका प्रमुख ब्याटर हुन् । विश्व टि२० आई वरियता दोस्रो स्थाननमा रहेका रिजवानले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पाकिस्तानले विश्व क्रिकेटमा लगातार उच्च प्रदर्शन गर्दा रिजवान र बाबर आजम नायक बन्दै आएका छन् ।
भारतीय विकेटकिपर दीनेश कार्तिकले पनि नेपाल आएर सन्दीपलाई भेट्ने इच्छा गरेको बुझिएको छ । गत मंगलबार पोखरामा बसेको बोर्ड बैठकले सन्दीपमाथि लगाएको निलम्बन फुकुवा गरेको थियो । शुक्रबारदेखि सन्दीपले सिनियर टोलीसँग बन्द प्रशिक्षणमा सामेल भएका थिए । एक हप्तापछि घरेलु मैदान टियुमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग खेल्दैछ ।