महँगी ७ प्रतिशतले बड्दा नेपालीको तलब १० प्रतिशतले बढ्यो

महँगी ७ प्रतिशतले बड्दा नेपालीको तलब १० प्रतिशतले बढ्यो

२३ माघ, काठमाण्डौ ।
६ महिनाको अवधिमा नेपालमा महँगीभन्दा तलब तथा ज्यालाको वृद्धिदर धेरै देखिएको छ । नेपाल राष्ट्र बैंकले आज ६ महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार ६ महिनाको तथ्याङ्कले महंगीभन्दा नेपालीहरुको तलब बढेको देखाएको हो ।

२०७९ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् महँगी ७.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको थियो । २०७९ पुस महिनामा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क भने १०.२७ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ५.७७ प्रतिशतले बढेको थियो । चालू आर्थिक वर्षको ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १६.४३ प्रतिशत, स्वास्थ्यका २२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, विविध वस्तु तथा सेवाको ८.६८ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले बढेको छ ।

यता चालु आर्थिक वर्षको ६ महिनामा खुद सेवा आय भने ३१ अर्ब २७ करोड रुपैयाँ घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा खुद सेवा आय ४६ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत पुस मसान्तसम्ममा भ्रमण आय ११६.९ प्रतिशतले बढेर २८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १२ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो ।

सेवा खाता अन्तर्गत भ्रमण व्यय ५८.५ प्रतिशतले बढेर ५१ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३२ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । विदेशमा पढ्न जाने विध्यार्थीले पुस मसान्तसम्ममा ३५ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेका छन् । गत वर्षको सोही अवधिमा १७ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.