२६ माघ ,काठमाण्डौ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । त्यसका लागि बुधबार स्थगित भएको सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दैछ । सभामा मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले बताए का छन् ।
मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टी भने विश्वासको मत नदिने पक्षमा छ । उन्मुक्तिका सातै जना प्रदेशसभा सदस्य काठमाडौंमा रहेका छन् । नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा स्वतन्त्र र राप्रपाका १÷१ जना सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत माग्दै गर्दा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आत्मसमर्पण नगर्ने बताएकी छन् ।
सरकारले रेशम चौधरीलाई छाड्ने संकेत नदिएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको नदिने अडानमा छ नागरिक उन्मुक्ति । मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचीसहित हिजैका लागि तय गरिएको प्रदेशसभा बैठक आजलाई सारिएको छ । रावल नेतृत्वमा सरकार बनेको आज एक महिना पुगेको छ ।
आज सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाए सरकार ढल्छ । उनलाई मनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार साँझ र बिहीबार विहान वार्ता गरेपनि सहमति जुट्न सकेको छैन् । तर, उनले आफ्ना पार्टीका सात सांसदको फोटो फेशबुकमा राख्दै लेखेकी छन्, ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने ! योद्धाहरू त सहिद भएर मर्छन तर परिचय मर्न दिँदैनन् ।
आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होईन ओरालोतिर लाग्छ।’ विद्रोह गर्ने आफूहरूको माग नभइ मुलुक समृद्धिका लागि मानुपातिक सहभागिता लक्ष्य भएको उल्लेख गरेकी छन् । ‘हिजो आयातितले बजार धान्थे आज हामी आफै सक्षम छौँ ।
सतहमा द¥हो पिल्लर छ, भूकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा दुईचार घन दुस्साहसमात्रै हो’ उनले भनेकी छन्, ‘भलो यसैमा छ, मुलुकीय तलामा तपाईंको पनि साथ रहोस् अनि त चुलिएको महलबाटको दृश्याङ्कन फटिक नजरमा कति सुहाउलान है ?? श्रमले मुलुक समृद्धिशाली बन्छ आश्वासित शब्दले होइन ।’