Nepal Times
Nepal Times
3
Shares

पिएसजीको जितमा एम्बाप्पेको कीर्तिमानी/सर्वाधिक २०१ गोल

पिएसजीको जितमा एम्बाप्पेको कीर्तिमानी/सर्वाधिक २०१ गोल

२१ फागुन, एजेन्सी ।

फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) को सर्वाधिक गोलकर्ता बनेका छन् । फ्रेन्च लिग वान अन्तरगत शनिबार राति नान्टेसमाथि रोमाञ्चक जितमा एक गोल गरेसँगै एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता बनेका हुन् । पिएसजीले घरेलु मैदानमा नान्टेसमाथि ४–२ को रोमाञ्चक जित निकालेको छ ।

पिएसजीको जितमा एम्बाप्पेसंगै लियोनल मेसी र डानिलो पेरेइराले गोल गरे । एक गोल उपहार पाएको थियो । नान्टेसका लुडोभिक ब्लास र इग्नाटिएस गनागोले गोल गरेका थिए । पार्क डेस प्रिन्सेसमा गएराति खेलको १२औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाए ।

खेलको १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल उपहार दिएपछि पिएसजीको अग्रता दोब्बर भयो । ३१औं मिनेटमा लुडोभिक ब्लास्टले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई पहिलो हाफमा २–२ गोलको बराबरीमा ल्याए ।

६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को रोमाञ्चक जित दिलाए । यो गोलसँगै एम्बाप्पे पिएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । उनले पिएसजीका लागि २०१ गोल गर्दै एडिन्सन काभानीको रेकर्डलाई पछि पारेका हुन् ।

सन् २०१७ मा मोनाकोबाट विश्व कीर्तिमान मुल्यमा पिएसजी आएका एम्बाप्पेले चार वटा लिग वानको उपाधि जितिसकेका छन् । हरेक लिगमा गोल गर्ने शीर्ष खेलाडी भित्र परेका उनले यो सिजन मात्र ३० गोल गर्नुका साथै आठ असिस्ट गरेका छन् ।

दुई विश्वकपको फाइनल खेलेका एमबाप्पे फ्रान्सले २०१८ मा विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । २०२२ मा उनले गोल्डेन बुट जितेका थिए । एमबाप्पेले फ्रान्सबाट २०२१ मा नेसन्स लिगको उपाधि पनि जितेका छन् ।

गत नोभेम्वर र डिसेम्वरमा कतारमा भएको विश्वकपको फाइनलमा एमबाप्पेले अतिरिक्त समयमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक पूरा गर्दा खेल ३–३ गोलको बराबरीमा पुगेको थियो ।त्यसपछि पेनाल्टीमा अर्जेन्टिना विजयी भएको थियो । यस्तै क्लबका लागि २४७ खेल खेलेका उनले यहाँ आएर आफूले धेरै सिकेको बताए ।

‘यहाँ आइपुग्दा म जवान खेलाडी थिएँ। मैले यहाँ धेरै कुरा सिकेको छु’, एमबाप्पेले भने, ‘म इतिहास लेख्न खेल्छु, र मैले सधैं भनेको छु कि म यसलाई यहाँ, फ्रान्समा, यसको राजधानी सहरमा गर्न चाहन्छु…. यो व्यक्तिगत उपलब्धि हो तर म यहाँ सामूहिक उपलब्धिको लागि आएको हुँ।’

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २६ खेलबाट ६३ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई ११ अंकले पछि पारेको छ । पराजित नान्टेस २८ अंक जोडेर १३ औं स्थानमा झरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.