Nepal Times
Nepal Times
3
Shares

पिएनजीका भालाले कीर्तिपुरमा इतिहास रचे

पिएनजीका भालाले कीर्तिपुरमा इतिहास रचे

१ चैत , काठमाण्डौ ।
पपुवा न्यूगिनी (पिएनजी) का कप्तान असद भालाले इतिहास रचेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा पिएनजीका लागि १० अर्धशतक बनाउने पहिलो ब्याटर बन्दै इतिहास रचेका छन् । भालाले यो उपलब्धि आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिजमा बुधबार यूएईविरुद्ध हासिल गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीका लागि भालाले ७१ बलमा ५ चौका र एक छक्कासहित अर्धशतक पूरा गरे । उनले अहिलेसम्म ६१ म्याच खेल्दा एक शतक र १० अर्धशतकको मद्दतमा झण्डै १८ सय रन बनाएका छन् ।

पिएनजीका लागि सर्वाधिक अर्धशतक बनाउने मामलामा दोस्रो स्थानमा टोनी उरा रहेका छन् । उनले अहिलेसम्म ५६ म्याचमा ५ अर्धशतक बनाएका छन् । साथै, उराले एक शतक पनि बनाएका छन् । उनी पिएनजीका लागि ओडिआईमा सर्वाधिक रन (१२२६) बनाउने मामलामा पनि दोस्रो स्थानमा छन् ।

आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिजमा पपुवा न्यूगिनी (पिएनजी) ले यूएईलाई २ सय ३५ रनको लक्ष्य दिएको छ । ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनाएको छ । पिएनजीले लिग–२ मा अहिलेसम्म ३५ खेल खेल्दा ५ मा जित, २९ मा हार तथा एक खेलमा अंक बाँडेको छ ।

ऊ ११ अंकसहित तालिकाको पुछारमा रहेको छ । लिग–२ को अन्तिम खेलमा नेपालले बिहीबार यूएईको सामना गर्दैछ । नेपाल–यूएईबीचको खेल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ । भोलि नेपाली टोली यूएईलाई हराउँदै एकदिवसीय विश्वकप छनोटमा पुग्न चाहन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.