उपराष्ट्रपतिबारे बैठक नबस्न दलहरूलाई आयोगको निर्देशन

२ चैत, काठमाण्डौ ।
निर्वाचन आयोगले शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न÷नगराउन ध्यानाकर्षण गराएको छ । मंगलबार रातिदेखि निर्वाचन मौन अवधि सुरु भइसकेको छ ।

Advertisement

उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा आज आयोगले प्रेस विज्ञप्ति जारी गरी सो ध्यानाकर्षण गराएको हो । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु भइरहेको विज्ञप्ति मार्फत स्मरण गराएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका बैठक, छलफल, अन्तर्किया, सभा गर्न नपाइने उल्लेख छ । यसैगरी सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

आज मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले राष्ट्रपतिबारे निर्णय लिन शुक्रबार पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाउने निर्णय गरेको थियो । रास्वापाले शुक्रबार बिहान साढे बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बैठक बोलाएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट प्रमिला कुमारी यादव र रामसहाय प्रसाद यादव तथा जनमत पार्टीबाट ममता झासहित चार जना उम्मेदवार रहेका छन् । यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले आजै सरकारी निवास छाडेका छन् ।

Advertisement

उनी आजै उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका हुन् । चुनावबाट नयाँ उपराष्ट्रपति आउने निश्चित भएपछि उनी निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताए । उनी उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।

उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाई सहजताका लागि उपराष्ट्रपति पुनले निवास छाडेको उनले बताए । नयाँ उपराष्ट्रपतिको पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण नभएसम्म पुनले निजी निवासबाटै उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने बताइएको छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top